मकवानपुर । आज शुक्रबारबाट उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खुला भएको छ। लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रूपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले साधारण सेयर बिक्री सुरु गरेको हो।
त्यसमध्ये ०.५० प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने २ लाख २१ हजार १ सय ५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने लघुवित्तले जनाएकाे छ। लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा चैत २५ गते देखि २९ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे २०७९ बैशाख ९ गतेसम्म म्याद थप हुनेछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ। हाल लघुवित्तको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ। सर्वसाधारणलाई २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ।
महिला उपकार मञ्च नामक गैरसरकारी संस्थाको अगुवाईमा उपकार लघुवित्त वित्तीय संस्था २०७४ साउन २५ गते कम्पनी राजिष्टारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो। कम्पनीले २०७५ माघ १७ गते नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न अनुमति पाएको थियो।
२०७५ चैत १ गते देखि औपचारीक रुपले कारोबार शुभारम्भ गरेको लघुवित्तको प्रदेशस्तरको रहेको छ। लुम्बिनी प्रदेश कार्यक्षेत्र बनाएको लघुवित्तको १० वटा जिल्लामा ३२ वटा शाखा कार्यालहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले लघुवित्तको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
