मकवानपुर/नजिकीदै गरेको स्थानीय तहको निर्वाचनमा मकवानपुरमा सत्तारुढ दलबीच वडास्तरबाटै गठबन्धन गर्ने सहमति भएको छ ।
आज नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा वडा तहबाटै गठबन्धन गर्ने सहमित गरेको हो । अब आगामी निर्वाचनमा जिल्लाको १०२ वटै वडा र दशवटा स्थानीय तहमा गठबन्धन कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले बैठक पश्चात् आयोजित पत्रकार सम्मेलनमा बताए ।
केन्द्रको निर्देशन अनुसार जिल्ला, स्थानीय तह र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिने सभापति लामाले बताए ।“गठबन्धनको सहमति जुटेको भएपनि कुन पार्टीले उम्मेदवार को उठाउने भन्ने बारेमा टुंगो लागेको छैन” लामाले भने “प्रारम्भिक छलफल भएको हो, केन्द्रीय निर्देशन अनुसार हामी अगाडि बढ्नेछौं।”
गठकन्धनले निर्वाचनको लागि कांग्रेसको जिल्ला सभापति बुद्ध लामाको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय बनाउने समेत निर्णय गरेको छ । जिल्लाको सचिवालयमा नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष श्रीधर पाखरेल, जनता समाजवादी पार्टीका सोनामसिं स्याङ्तान र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी रहनेछन् ।
निर्वाचन लक्ष्यित सचिवालय स्थानीय तह र वडासम्मै नै यही संरचनामा निर्माण हुनेछ । बैठकले स्थानीय तह र वडासम्मै गठबन्धनको संयन्त्र निर्माण गर्न आवश्यक थप छलफल र बैठक बस्न समेत पार्टीको तल्लो संरचनालाई निर्देशन दिएको छ ।
हामी एक्लै काफि छौः एमाले अध्यक्ष श्रेष्ठ
गठबन्धनलाई पराजित गर्ने सार्मथ्य नेकपा एमाले एक्लैसंग भएको पार्टीका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताएका छन् ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठले पाँच दलीय गठबन्धनलाई पराजित गर्ने सार्मथ्य नेकपा एमालेसँग रहेको दाबी गरेका हुन् ।

पार्टीको निर्वाचन लक्ष्यित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धनका बिरुद्ध एमाले कार्यकर्ता एक हुनेबेला आएकोले कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए । सत्तारुढ गठबन्धन एउटै कित्तामा उभिएसँगै एक्लिएको एमालेले मकवानपुरमा राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ यद्यपि राप्रपा पनि हालै मात्रै फुटेको कारण राप्रपाबाट एमालेलाई कति बल पुग्ला विचारणीय छ । “हामी विरुद्ध पहिला पनि गठबन्धन भएको हो, हामीलाई केही फरक पर्दैन” श्रेष्ठले भने ।
बागमती गाउँपालिकामा गठबन्धन भत्कीन्छः राष्ट्रिय सभा सदस्य राई
नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य तथा राष्ट्रिय सभाको सदस्य रामचन्द्र राईले सत्तागठबन्धनको अप्राकृतिक गठबन्धनलाई बागमती गाउँपालिकाका जनताले भत्काईदिने दाबि गरेका छन् ।
नेकपा एमाले बागमती गाउँपालिकाले आयोजना गरेको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राइले गठबन्धन जनताको इच्छा विपरीत भएकोले त्यो जनताले नमान्ने बताए । पार्टीको जिल्ला सहईन्चार्ज समेत रहेका राईले निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि सर्वसाधारण माझ पार्टीको एजेन्डा लैजाने विषयमा एमाले अगाडि रहेको बताए ।
मकवानपुरे जनता एमालेको पक्षमा ः पूर्व मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहको निर्वाचनमा मकवानपुरे जनताले एमालेको पक्षमा मतदान गर्ने दाबि गरेका छन् ।

एमालेको नेतृत्वमै हेटौँडा प्रदेशको राजधानी बनेको विषय मकवानपुरे जनताले बुझेको उनले स्मरण गराए । हेटौँडा उपमहानगरपालिकाका नेतृत्व लिएको एमालेले नगरमा गरेका विकास निर्माणको काम देखेर यो पटक पनि यहाँका सर्वसाधारणले एमालेकै पक्षमा मतदान गर्ने उनले बताए । कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य अनन्त पौडेलले सत्ता गठबन्धन अत्तालिएको भन्दै एमालेको पक्षमा जनलहर देखिएको दाबी गरे ।
एमाले एक्लै मैदानमा जाने
गत निर्वाचनको मतपरिणाम अनुसार नेकपा एमाले मकवानपुरको सबैभन्दा ठूलो दल हो । तर निर्वाचनको केही महिना मात्रै अघि पार्टी विभाजनको पीडा भोगेको एमाले अब एक्लै मैदानमा ओर्लदै छ ।
नेकपा एमाले स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा जुटीरहेको बेला सत्तापक्षको गठबन्धनले एमालेलाई धक्का पुग्ने विश्लेषकहरुको भनाई छ । एमालेविरुद्ध जिल्लाका सत्तारुढ गठबन्धन एक भएर निर्वाचनमा होमिने भएपछि एमालेले तयारीलाई अझै चुस्त बनाउनु पर्ने चुनौती देखिएको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले मकवानपुरमा ६ वटा स्थानीय तह तथा नेपाली कांग्रेस र माओवादीले २ /२ वटा स्थानीय तह जितेका थिए । एमालेले आमरुपमा पार्टी विभाजनको असर नपरेको दावी गरे पनि नेकपा (एकीकृत समाजवादी) को वडा तहैसम्म संरचना निर्माण भएको छ । एमालेबाट विभाजन भएको निर्माण भएको नेकपा (एस), नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले एक भएर वडा तहबाटै गठबन्धन गर्ने सहमति गरेसँगै मकवानपुरे राजनीतिमा एमाले एक्लो भएको छ ।
