मकवानपुर/बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जनताको ज्यू धनको सुरक्षार्थ तीनै तहको सरकार जिम्मेवार रहेको बताएका छन् । उनले सरकार तथा प्रहरीलाई आफ्नो जिम्मेवारी पुरा गर्न आम जनताको साथ अनिवार्य भएको बताएका छन् ।
नेपालको संविधानले नै बाँच्न पाउने अधिकारको सुनिश्चितता गरेको स्मरण गर्दै मन्त्री खनालले स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा सबै तहमा शान्ति सुरक्षा तथा अमनचयनको वातावरण व्यवस्थित हुनुपर्ने बताए ।
मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनको नव निर्मित ईलाका प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
भवन उद्घाटन गर्दै मन्त्री खनालले प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सजिलो पार्ने जिम्मेवारी आमनागरिकको भएको बताए । भवन निर्माणसँगै प्रहरीको लागि अत्यवश्यक भौतिक आवश्यकता टरेको र यसले प्रहरीको मनोबल उच्च भएको उनले बताए । ‘यसले शान्तिसुरक्षामा थप बल पुगेको छ’ उनले भने ।
बागमती प्रदेश सरकारको विनियोजित बजेटबाट आर्थिक वर्ष ०७५/०७६ मा बागमती प्रदेशमा पहिलो चरणको ४६ वटा प्रहरी इकाईहरुको निर्माणकार्यको थालनी भएको थियो । जसमध्ये मकवानपुरको यो कार्यालय ३९ औं हो । प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशनालयबाट २ करोड ८१ लाख ३३ हजार ८ सय २३ रुपौयाँको लागतमा भुकम्प प्रतिरोधात्मक भवन निर्माण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हाल सम्म ३९ वटा निर्माण सम्पन्न भई ३७ वटा उद्घाटन भएको एक वटा प्रहरी इकाई उद्घाटन गर्न बाकीँ रहेको बताइएको छ । साथै एउटा भवन चैत्र मसान्तमा र बाकी ५ वटा बैशाख मसान्तमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको समेत जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको कार्यालय र ब्यारेक भवन आफ्नै २ रोपनी जग्गामामा निर्माण गरिएको छ । नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको भुई तल्लामा कार्यालय प्रयोजनको निमित्त ५ वटा कोठाहरू र शौचालय सुविधा सहितको २ वटा महिला तथा पुरुष हिरासत कक्षहरू रहेका छन् । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, बागमती प्रदेश सरकारका सचिव रुद्रसिंह तामाङ, मकवा नपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, सशस्त्र प्रहरीका एसपी रणबहादुर कार्कीलगायतको उपस्थिती रहेको थियो ।

