पाेखरा । नेकपा एमालेनिकट पत्रकारको संस्था प्रेसचौतारी नेपालको नवौं महाधिवेशन पोखरामा जारी छ ।
महाधिवेशनको आज शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । दिनभर अधिवेशन उद्घाटन कार्यक्रम चलेपछि साझबाट बन्दसत्र सुरू भएको छ । बन्दसत्रमा चौतारीका महासचिव राजेश राई र कोषाध्यक्ष ईन्द्र आचार्यले प्रतिवेदन पेश गरेका छन् । समाचार तयार पार्दासम्म प्रतिवेदनमाथी टिप्पणी चलिरहेको छ । आज बन्दसत्रमा प्रतिवेदन पास गरेपछि भोलि शनिबार निर्वाचन प्रक्रियामा जाने कार्यतालिका रहेको छ ।
नयाँ नेतृत्वको लागि आकाक्षी धेरै
चौतारीको नयाँ नेतृत्वमा आउनको लागि महाधिवेशनमा ७ जना अध्यक्षमा दावी गर्ने आकांक्षी देखिएका छन् । यद्यपी सहमतिकै आधारमा कमिटी बनाउने तयारीमा पार्टी तथा संगठनका नेताहरू लागि परेका छन् ।
चौतारीको नेतृत्व हात पार्न अध्यक्षका आकांक्षीहरूले दौडधुप गरिरहेका छन् । हालका अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष गणेश पाण्डे, टीका विष्ट, महासचिव राजेश राई, पूर्व अध्यक्ष प्रमोद दाहाल, चौतारी नेता दीपक पाण्डे अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।
चाैतारीमा अध्यक्षसहित ४ उपाध्यक्ष, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने प्रस्ताव गरिएको । केन्द्रीय समिति १ सय ५१ सदस्यीय रहने प्रस्ताव छ । केन्द्रीय कमिटीको संख्या अझै घटाउनेबारे पनि छलफल चलिरहेको छ ।

