मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को क्याम्पाडाँडामा निर्माण भएकाे पिप्ले क्याम्पा रंगशालाकाे शुक्रबार उद्घाटन गरिएकाे छ । पिप्ले युवा क्लबको अगुवाई, ५ नम्बर वडा कार्यालय, हेटौंडा उपमहानगरपालिका र जनसमुदायको सहयोगमा निर्माण भएको रंगशालाको शुक्रबार हेटाैडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतले उद्घाटन गरेका हुन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एक वर्षमै रंगशालाकाे उद्घाटन गरिएकाे हाे । रगंशालाको उद्घाटन गर्दै मेयर महतले विकास निर्माण र खेलकुदको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरेको बताए । सबै जनप्रतिनिधिहरुको साथ र सहयोगबाट उपमहानगरपालिकाले कामका उपलब्धी हासिल गरेकाे महतले बताए ।
करिब ५ बिगाह क्षेत्रफलमा निर्माण भएको पिप्ले क्याम्पा रंगशाला १ करोड ७० लाख लागतमा निर्माण भएको हाे । पिप्ले युवा क्लबको अगुवाइ र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा रंगशाला निर्माण सुरु गरिएको थियो । रंगशाला निर्माण गर्न हेटौंडा उपमहानगरपालिका, ५ नम्बर वडा कार्यालय र व्यक्तिगतरुपमा पनि सहयोग प्राप्त भएको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न र खेलाडीलाई दैनिक प्रशिक्षणका लागि व्यवस्थित स्थानको रुपमा पिप्ले रंगशाला निर्माण गरिएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । रंगशालामा करिब १० हजार दर्शक अटाउने बताइएकाे छ । निर्माण सकिन अझै एक महिना लाग्ने छ अध्यक्ष घिमिरेले भने –‘पूर्णरुपमा निर्माण सकिएपछि लागत खर्च सार्वजनिक गर्ने योजना छ ।’

रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिकाको १ करोड ९ लाख रुपैयाँ, ५ नम्बर वडा कार्यालयको ३० लाख बजेट विनियाेजन गरेकाे थियाे । यस्तै, जनसमुदायबाट ३० लाख रुपैयाँ संकलन गरी जम्मा १ करोड ७० लाख लागतमा बनेको रंगशाला हेर्नलायक रहेकाे घिमिरेले दाबी गरे ।
अध्यक्ष घिमिरेले भने, ‘आफू पनि खेलाडी हो । खेल क्षेत्रप्रति छुट्टै लगाव छ । बागमती प्रदेशको राजधानीको रुपमा रहेको हेटौंडामा खेलकुदको लागि एउटा रंगशाला आवश्यक थियो । रंगशाला निर्माण हुनु भनेको खेल क्षेत्रको विकास हुनु हो ।’ आगामी दिनमा रंगशालाले थुप्रै खेलाडी उत्पादन गर्ने उनकाे विश्वास छ । रंगशाला निर्माण भएपछि मकवानपुरका खेलाडीहरु पनि खुसी भएकाे उनले बताए ।
मकवानपुर फुटबल तथा अन्य खेलका खेलाडी उत्पादनको हिसाबले राम्राे स्थानमा रहेको भएपनि रंगशालाको अभावमा यहाँ संचालन हुने फुटबल लगायतका खेलका प्रतियोगिताहरु अस्थायी प्यारफिट तथा खुला मैदानमा संचालन गर्नु पर्ने बाध्यता रहँदै आएको थियो । रंगशालामा फुटबलसहित एथ्लेटिक्सको ट्रयाक समेत निर्माण गरिएको छ ।

