मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले यस वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्याउने १० जनालाई सम्मान गर्ने भएको छ । आजबाट सुरु हुने तेस्राे ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ काे अवसरमा उक्त सम्मान प्रदान गरिने झरना साहित्यिक परिवारका सचिन दिपक गाैतमले जानकारी दिए । कला–साहित्य महोत्सवकाे पहिलाे दिन फागुन २७ गते सम्मन प्रदान गरिने कार्यक्रम रहेकाे छ ।
झरनाले यस वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मानबाट अग्रज साहित्यकार एवं प्राज्ञ डा.देवी नेपाल (भक्तपुर) सम्मानित गर्ने भएकाे छ । २१ हजार १ सया २१ रुपैंया सहित नेपाललाई सम्मानित गरिने छ । यसैगरी शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मान १५ हजार ५ सय ५५ रुपैंया सहित अग्रज मुक्तककार वियोगी बुढाथोकी (काठमाडौं), बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान १५ हजार ५ सय ५५ रुपैंया सहित अग्रज साहित्यकार आरसी रिजाल (मकवानपुर) सम्मानित हुने छन् ।
यस्तै खडानन्द मनमाया स्मृति युवा प्रतिभा सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित युवा कवि यात्रीप्रकाश पाण्डे (धादिङ), सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित युवाकवि शान्ति प्रियवन्दना (मकवानपुर), सञ्जीवनी बुटी साहित्य सेवा सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित साहित्यसेवी/समाजसेवी बेलप्रसाद दाहाल (बकैया-४,मकवानपुर) लाई महाेत्सवमा सम्मानित गरिने छ ।
यसैगरी खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित कलाकार बाबुलाल वाईवा मकवानपुर, झरना–बकैया पत्रकारिता सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित स्व पत्रकार गोकर्ण गौतम (मरणोपरान्त) (बकैया मकवानपुर), झरना–बकैया उत्कृष्ट नवप्रतिभा सम्मान ५ हजार ५ सहित उदीयमान गजलकार विजय दोङ (बकैया-५ मकवानपुर) र झरना–बकैया उत्कृष्ट बालसाहित्य सम्मान सम्मानपत्र र १० थान विशेष पुस्तकसहित झरना महेन्द्र बालसाहित्य समिति (महेन्द्र मावि बकैया ४) सम्मानित गरिने झरना साहित्यिक परिवार मकवानपुरले जनाएको छ ।

