मकवानपुर । महिलाको सवाललाई साझा सवालको रुपमा स्वीकार्न पूर्व राज्य मन्त्री जुनेली श्रेष्ठले अनुरोध गरेकी छन् । महिलाको विषय भनेर पुरुषहरुले बेवास्ता गर्ने हो भने यसको असर पुरुषहरुलाई पनि प्रत्यक्ष रुपमा पर्ने बताइन् ।
११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बागमती प्रदेश सभा सदस्य श्रेष्ठले यस्तो बताएकी हुन् । प्रदेश सभा सदस्य एवम् सामाजिक विकास पुर्व राज्यमन्त्री श्रेष्ठले आफू मन्त्रालयको जिम्मेवारीमा हुँदा महिलाको सवालमा धेरै काम गरेको स्मरण गराइन् ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘लैंगिक समानता सामाजिक समावेसिकरण नीति विषयक’ अन्तर संवाद कार्यक्रममा उनले भनिन् ‘हामीले धेरै राम्रा कामहरु घान हालेर आएका थियौ, ति काम कहाँ पुग्यो थाहा छैन ।’
डेभलपमेन्ट एक्स्चेन्ज सेन्टर (डेक नेपाल) र मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुरको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा पूर्वराज्य मन्त्री श्रेष्ठले अझै पनि समाजमा महिला हिंसाको समस्याहरु रहेको बताईन् । उनले आफूले सधै महिला हकहितको सुनश्चिताको लागि राजनीतिमा महिला सहभागिता,सामाजिक क्षेत्रमा महिलाहरुको समानुपातिक सहभागिता लागि सधै बहस उठाईरहेको बताएकी थिइन् ।
मानव अधिकार,महिला अधिकार तथा महिला हिंसा विरुद्धको अभियानमा निरन्तर सक्रिय श्रेष्ठले बागमती प्रदेशको राज्यमन्त्रीको ४९ दिनको जिम्मेवारी लिँदा महिला तथा बालबालिकाको लागि विभिन्न कार्यक्रम तयार पारिरहेको तर राजनीतिक घटनाक्रमको कारण जिम्मेवार मुक्त हुँदा काम अपुरै रहेको बताईन् । बागमती प्रदेश सरकारले ४ वर्ष बित्दा पनि महिला,बालबालिका,यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकोे लागि कुनै पनि नीति निर्माण गर्न नसकेकोमा उनले गुनासो गरिन् ।
नीति तथा कार्ययोजना नबन्दा अझै पनि हिंसाका घटनाहरु उत्तिकै रहेको उनले जिकिर गरिन् । उनले आफू नीति निमार्ण गर्ने स्थानमा पुग्दा पहिलो प्राथमिकता बालबालिकाको हकहित,विकास तथा संरक्षणको लागि नीति तथा बजेट छुट्याएर काम गर्ने तयारी अवस्थामा रहँदा सरकारको जिम्मेवारीबाट पद मुक्त हुँदा काम अपुरो रहेको दुःख व्यक्त गरिन् ।
महिला हकहित अधिकारको लागि महिलानै राजनीतिमा आउनुपर्ने उनले बताईन् । उनले राजनीतिक क्षेत्रमा महिला अघि नबढेसम्म महिला हकहित तथा संरक्षणको नीति निर्माण हुन नसक्ने दाबी गरिन् । उनले जुनसुकै रानीतिक पार्टीमा आस्था राख्ने भएपनि महिलाले महिलालाईनै सहयोग गर्नुपर्ने बताईन् । उनले भोलि ८ मार्च अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्यताको साथ मनाउन समेत अनुरोध गरिन् ।

यसैगरि,कार्यक्रममा इन्सेक बागमतीका कार्यकारी निर्देशक विजयराज गौतमले हिंसा सम्बन्धी हुने अपराधमा ६० प्रतिशत महिला हिंसा सम्बन्धी अपराध हुने गरेको बताए । उनले आफुहरु पनि महिला हिंसा विरुद्धकै अभियानमा साथ रहेको बताउँदै मानव अधिकार तथा संरक्षणमा लागि इन्सेक सदैव साथमा रहिरहेको र रहने बताए । यस्तै कार्यक्रममा बोल्दै शान्तिका लागि साझा अभियान (कोक्याप) का केन्द्रीय कोषाध्यक्ष अर्जुन ढकालले महिला हक हितका लागि कोक्याप सधै साथमा रहेको रहने प्रतिबद्धता व्यक्त गरे ।
मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुरका अध्यक्ष आरती पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्ष हर्कमाया रुम्बा,मनहरी गाउँपालिकाको उपाध्यक्ष मनिला विष्ट,गैसस महासंघ केन्द्रीय सचिव बुद्धशरण लामा,सदस्य ईन्दिरा न्यौपाने, डेक नेपालका निर्देशक कोपिला डंगोल,संचारिका समूहको बागमती प्रदेश संयोजक सरिता दाहाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि,मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
मार्च ८ को सन्दर्भमा जिल्लाको विभिन्न दलहरु, गैरसरकारी संघसंस्थाहरुले महिला हिंसा विरुद्ध सचेतना तथा महिला नीतिबारे बहस तथा अन्तरक्रिया कार्यक्रम गरिरहेका छन् ।
कार्यक्रममा गैसस महासंघको केन्द्रीय सचिव बुद्धशरण लामा र केन्द्रीय सदस्य इन्द्रीरा न्यौपानेलाई सम्मान गरीएको सञ्जालका सचिव जगन्नाथ सुवेदीले बताए । हालै सम्पन्न गैसस महासंघको निर्वाचनमा मकवानपुरबाट प्रतिनिधित्व गर्न सफल भएकोमा उनीहरुलाई सम्मान गरिएको सञ्जाल अधक्ष्य पाठकले बताइन् ।

