मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन अन्तरगत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन १ बजेबाट हुने भएको छ । सोमबार सम्पन्न निर्वाचनमा सभापतिका ३ जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन हुन लागेकाे हाे ।
साेमबार भएकाे मतदानकाे मतगणनामा सबैभन्दा बढी मत ल्याउने र निकटतम प्रतिस्पर्धी आज पुनः मतदान गर्न लागिएकाे जिल्ला निर्वाचन समितिले जनाएको छ । समितिले मतदानको समय आज दिउँसाे १ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ ।
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने बुद्ध लामा र निकटतम प्रतिस्पर्धी आनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ । सोमबार सम्पन्न मतपरिणाम अनुसार ५ सय ४९ मत सहित बुद्ध लामा पहिलो, ५ सय ४५ मत सहित आनन्दराम पराजुली दोस्रो र ५ सय ३१ मत सहित जयराम लामिछाने तेस्रो स्थान रहेका थिए ।
पहिलाे चरणकाे निर्वाचन परिणामबाट लामिछाने सवै भन्दा कम मत प्राप्त गरी बाहिरिएका छन् । लाम र पराजुलीलाई विजयी हुन लामिछाने नेतृत्व टिमको मत आवश्यक देखिन्छ । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनासहितका नेताहरु सहमति प्रयासकाे लागि छलफलमा रहेकाे बताइएकाे छ ।
साेमबारकाे मत परिणामबाट बढी मत ल्याउने बुद्धको नेतृत्वमा सहमति जुटाउने प्रयास भइरहेको र सहमति नजुटेको अवस्थामा मात्रै निर्वाचन हुने जनाइएको छ ।


