मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकाे जिल्ला अधिवेशनमा सोमबार भएकाे मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । सोमबार राति सम्पन्न मतगणना अनुसार सभापति पदकाे अन्तिम मत परिणाममा सभापति पदका उम्मेदवार बुद्ध लामाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
लामाले ५ सय ९२ मत प्राप्त गरेको कांग्रेस मकवानपुरले जनाएको छ । सभापति पदका अर्का उम्मेदवारद्वय आनन्दराम पराजुलीले ५ सय ४२ मत र जयराम लामिछानेले ५ सय ३१ मत पाएका छन् । कांग्रेसको विधानमा सभापति पदमा निर्वाचित हुन ५१ प्रतिशत मत अनिवार्य रहेकाे छ । उक्त मतपरिणाम अनुसार सभापति पदका तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न सकेनन् र निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । अब सबैभन्दा बढी मत पाउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच दोस्रो चरणको मतदान हुने भएको हो । बुद्ध र पराजुली दोस्रो चरणको निर्वाचनमा जाँदैछन् । ११ मतले जयराम बाहिरिएका हुन् ।
लामा र पराजुली दुवै संस्थापन पक्षबाटै उम्मेदवार रहेका छन् । लामालाई कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानिया र पराजुलीलाई कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाकाे साथ रहेकाे छ । दोस्रो चरणको निर्वाचनमा संस्थापन इतर समूहको सहयोग पनि निर्णायक रहने बुझिएको छ । कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, नेतृ रिता खनाल, उमा दाहाललगायतले खुलेरै जयरामलाई सहयोग गरेका थिए । अब लामिछानेले लामा र पराजुली मध्ये कसलाई समर्थन गर्छन उहि विजयी हुने निश्चित देखिन्छ ।

