मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागुऔषध डायलेक्स र नाइट्रोभेट समेत गरी २ भारतिय नागरिक सहित ५ जनालाई पक्राउ गरेकाे छ । लागुऔषध १ सय ७३ बोतल डायलेक्स डीसीसहित पक्राउ ना १ ह ९४५० नम्बरको अटोेचालक भारतको बिहार रक्सौल पुर्वी चम्पारणका ३० वर्षीय अरविन्द कुमार पाण्डे र उक्त अटोमा सवार भारत बिहार रक्सौलका २६ की अमिता साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागुऔषध नाइट्रोभेट ६ सय ट्याब्लेटसहित पक्राउ पर्नेमा चितवन जिल्लाको कालिका नगरपालिका–८ बस्ने २१ वर्षीय एन्जल गुरुङ, १८ वर्षीय निश्चल परियार, भरतपुर महानगरपालिका–१६ का ३३ वर्षीय नरबहादुर राना मगर र २८ वर्षीय युवराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मंगलबार दिउँसो १ बजेर ४८ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्ट खण्डमा सवारी साधनहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ह ९४५० नम्बरको अटोे अटोमा लुकाई छिपाई ल्याइएको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका अटोे चालक पाण्डे र अटाेमा सवार साह दुवै जनालाई उक्त लागुऔषध, अटोसहित नियन्त्रणमा लिई बुधबार जिल्ला अदालत मकवानपुरबाट १० दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
यसैगरी मंगलबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा–१५ रातोमाटे चेकपोष्ट अगाडि गुरुङद्वय परियार र राना मगर सवार बीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ५३०९ नम्बरको बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा उनीहरुको साथमा लागुऔषध फेला परेको जनाइएको छ । पक्राउ परेका चारैजनालाई लागुऔषधसहित नियन्त्रणमा लिई बुधबार जिल्ला अदालत मकवानपुरबाट १० दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता रिमालले जानकारी दिए ।

