मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाँईले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको बताएका छन् । दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री हुमागाँईले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको भन्दै कृषिलाई व्यवस्थित गर्दै कृषकको विकासको लागि लागिपरेको बताए ।
बिन्दाबासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको चौथो दिन बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री हुमागाँईले पहुँचको आधारमा सरकारले अनुदान नदिने बताए । उनले भने ‘प्रदेश सरकारले वास्तविक किसानसम्म अनुदान पुर्याउने छ ।’ ‘सहज ढंगले किसानले अनुदान,सहुलिलयतपूर्ण ऋण पाउने व्यवस्था सरकारले मिलाउने छ’ मन्त्री हुमागाँईंले भने ‘किसानको हक अधिकारको लागि सदैव आफू तत्पर रहेको छु ।’
कार्यक्रममा किसानहरुले गाई वस्तुलाई खुवाउने खाद्यान्नको मुल्य आकासिदा दुधको मुल्य थोरै मात्रै बढेको र बढेको मुल्य पनि किसानलाई भन्दा धेरै बिचौलियालाई पोस्न खोजिएको गुनासो गरेका थिए । कार्यक्रममा रेडियो थाहासञ्चारको प्रवन्धक अरुणराज सुमार्गीले किसान बलियो भए मात्रै देशको अर्थतन्त्र बलियो हुने भन्दै कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।
मनकामना दुग्ध उत्पादक सहकारी सस्था प्रालिका अध्यक्ष अर्जुन दाहालको सभाध्यक्षातामा भएको कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डको उपाध्यक्ष नारायण देवकोटा,मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी,गढी गांउपालीका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे , श्रमिक साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष निर्मला लम्साल, वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ केन्द्रीय अध्यक्ष रोमलाल गिरी र केन्द्रिय उपाध्यक्ष तथा साना किसान अभियानको अभियान्ता राजेन्द्र खनाल लगायतले मन्तव्य व्यत्त गरेका थिए ।
यस्तै रेडियोले कार्यक्रमको पाचौ दिन भोली सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कसको भन्ने विषयमा मा.वि स्तरीय वक्तृत्वकला कार्यक्रम गर्ने रेडियोको स्टेसन म्यानेजर मणिराज गौतमले जानकारी दिए । फागुन ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरिक्रिया कार्यक्रम रहेकाे छ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने छ ।
कार्यक्रमको पहिलो दिन फागुन १ गते आईतबार पर्यावरण प्रवर्द्धन लागि रेडियोले साइकल ¥याली गरेको थियो भने दोस्रो दिन फागुन २ गते सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस्तै फागुन ३ गते रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।


