मकवानपुर । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठित मूल्य निर्धारण समितिले लागतको आधारमा प्रशोधित दूधको विक्रि मूल्य वृद्धी गर्न गरेकाे सिफारिस कार्यान्वयन नभएकाे भन्दै डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले ध्यानाकर्षण गराएकाे छ । संघ र एशाेसिएसनले पत्रकार सम्मेलन गरी वृद्धि गरिएकाे प्रशाेधित दूधको मूल्य वृद्धी परिमार्जन गर्न भनेकाे छ ।
बोर्डको संयोजकत्वमा गठित मूल्य निर्धारण समितिले प्रशाेधित दुधकाे मूल्य प्रति लिटर १० रुपैयाँ वृद्धि गर्न सिफारिस गरेकाेमा साेही अनुसार विक्रि मूल्य कायम गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दुग्ध विकास संस्थानलाई (डिडिसी) निर्देशन दिएको थियो । ‘दुग्ध विकास संस्थानबाट मूल्य निर्धारण समिति र मन्त्रालायको निर्देशनको अवज्ञा गरी नीजि क्षेत्रका डेरी उद्योगहरु धरासायी बनाउने मनसायले ९ रुपैया प्रति लिटर वृद्धि गरी शुक्रबारबाट प्रशोधित दूध प्रति प्याकेटको ४२ रुपैया पचास पैसा कायम गरिएको प्रति हामी सम्पूर्ण नीजि क्षेत्रको असहमति प्रकट गर्दछौं संघ र एशाेसिएसनले पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएकाे छ ।
पछिल्लो पटक २०७६ भाद्र २१ गते दूधको मूल्य परिमार्जन पश्चात दुग्ध उत्पादन, संकलन, ढुवानी, प्रशोधन र बजारीकरणमा पशु आहार, इन्धन, विद्युत, ज्याला, ढुवानी खर्च लगायतकाे पटक पटक मूल्य वृद्धि हुन गई कृषक तथा उद्यमीहरु मारमा परेकाेले नेपाल सरकारका विभिन्न निकायमा किसान लगायत उद्यमीहरुले समय सापेक्ष रुपमा दूधको खरिद तथा विक्रि मूल्य परिमार्जन गर्न अनुरोध गरेकाे थियो ।
नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार कच्चा दूधको मूल्य प्रति लिटर ६ रुपैया ५२ पैसा वृद्धि गरि कच्चा दूधको न्युनतम् मूल्य ५६ रुपैयाँ ४ पैसा (४ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ) निर्धारण भएकाे थियाे । यसरी नीजि क्षेत्रले किसानबाट दूध खरिद गर्दा दुग्ध विकास संस्थानकाे भन्दा बढि नै रहेको र फाल्गुण १ गते देखि लागू हुने गरी किसानहरुबाट खरिद गरिने कच्चा दूधको न्यनतम् मूल्य सहकारी संस्थाहरु समेतको गरि ५३ रुपैया ४५ पैसाबाट (४ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ) वृद्धि गरि ६२ रुपैया चितवन जिल्लाको हकमा कायम गरिएको नेपाल डेरी एसाेसियसनका अध्यक्ष राधाकृष्ण सापकाेटाले जनाकारी दिए ।
हालै वृद्धि गरिएको दुधकाे मूल्य ६२ रुपैयामा समायोजन गरिने छ । त्यसैगरि दुरीको आधारमा अन्य क्षेत्र वा जिल्लाको मूल्य निर्धारण गरिने छ । ३ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ वृद्धि पश्चात उपभोक्ता विक्रि मुल्य ८६ रुपैया प्रति लिटर कायम गरिएको छ । याे खरिद तथा विक्रि मुल्य फाल्गुन १ गते देखि लागु गरिने भएकाे हाे ।
डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले विज्ञप्ती मार्फत भनेकाे छ ‘दुधकाे मूल्य वृद्धिबाट आम उपभोक्ता वर्गमा पर्न गएको असर प्रति क्षमा प्रकट गर्दछाैं । नेपालको दुग्ध उत्पादन, संकलन प्रशोधन व्यवसाय एक विशुद्ध व्यवसाय भएको र यसमा कुनै पनि प्रकारको विचौलिया नभएकोले हालको मूल्य वृद्धिको रकम ७० प्रतिशत भन्दा बढि किसानको हातमा पुग्ने प्रतिवद्धता समेत विज्ञप्तीमा गरिएकाे छ ।
नेपालमा दुग्ध क्षेत्रको अवस्था
हाल दुग्धजन्य क्षेत्रमा ५ लाख कृषक परिवार रोजगारीमा आवद्ध रहेका छन । ३० हजार भन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाएका छन् । यसैगरी वार्षिक २ अर्व भन्दा बढी राजश्व डेरी क्षेत्रले सरकारलाई बुझाउँदै आएकाे समेत पत्रकार सम्मेलनमा बताइएकाे छ ।
यसैगरी डेरी क्षेत्रकाे कारण दैनिक ६ करोड भन्दा बढी रकम शहरबाट गाउँ प्रवाह भैरहेको बताइएकाे छ। ३० अर्व भन्दा बढी लगानी दुग्धजन्य उद्योगस्तरमा भएको छ । दुग्ध क्षेत्रको जीडीपीमा ९ प्रतिशत योगदान रहेकाे छ भने दैनिक दुध उत्पादन ६२ लाख लिटर रहेकाे छ । यस मध्ये कृषक स्वयंले ५० प्रतिशत उपभाेग गर्ने छन भने औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत उपभाेग हुने गरेकाे अध्यक्ष सापकाेटाले बताए ।

