मकवानपुर । बागमती प्रदेश सरकारले साेनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक विदा दिने भएकाे छ । तामाङ समुदायकाे सांस्कृतिक तथा धार्मिक पर्व २८५८ औँ सोनाम ल्होछार पर्व र चेपाङ समुदायको मुख्य पर्व न्वागीमा सार्वजनिक विदा दिने भएकाे हाे ।
वर्षेनी तामाङ समुदाय र चेपाङ समुदायले आफ्नो मुख्य चाडमा सार्वजनिक विदा मागिरहेको अवस्था प्रदेश सरकारले साेमबार सार्वजनिक विदाकाे निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले साेनाम ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागी पर्वमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मकवानपुर लगायत बागमती प्रदेशका जिल्लाहरुमा साेनाम ल्हाेछारमा सार्वजनिक विदा माग गर्दै यस अघी मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापनपत्र समेत बुझाएका थिए । नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले प्रदेशमा सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गर्दै ज्ञापना पत्र बुझाएका थिए ।

