मकवानपुर/वाग्मती प्रदेश सभाअन्तर्गत् सोमबार हुने दुईवटा समितिको सभापति छनौटका लागि हुने निर्वाचनमा सत्तापक्षले सहभागीता नै नजनाउने भएको छ ।
निर्वाचनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको छ । प्रदेश सभाअन्तर्गत् रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचनमा सत्ता पक्षले उम्मेदवारी नै नदिएको हो। आइतबार साझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको थियो । निर्वाचनको विषयमा गठबन्धनमा छलफल नै नभएपछि उम्मेदवारी नै नदिईएको बुझिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारी ५ बजेसम्म दर्ता गर्नुपर्ने थियो । तोकिएको समयमा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको छ । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता नगराएको हो । एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ । प्रदेश सभा अन्तरगत अर्थसमितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ । यो समिति गत बैशाख देखि सभापति बिहिन थियो ।
यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुदैछ । अर्थ समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले बताए ।
अर्थ समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजेका लागि तय गरिएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको छ । दुबै समूहमा एमालेको मात्र उपस्थिति रहने भएपछि जित सुनिश्चित देखिएको छ ।

