मकवानपुर । हेटौंडा ७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३१ औं वार्षिक साधारणसभा शनिबार भएको छ ।
संस्थाका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष राजन थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष थापाले वन समुहले विभिन्न समयमा तालिममार्फत उपभोक्तालाई आयआर्जनमा अघि बढाएको भन्दै समुहको प्रशंसा गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष क्षेत्रीले समुहको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव शान्ति चौलागाईंले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिजय गौतमले आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए ।
संस्थाले साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा सम्मान तथा पुरस्कृत समेत गरेको छ । संस्थाले जेष्ठनागरिक तर्फ भानुभक्त पौडेल र धनकुमारी दाहाललाई पौष्टिक आहार, दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।
यस्तै कृषि र पशुपालन तर्फ सुर्य बहादुर पाख्रीनलाई कृषि औजार र सरसफाइ तर्फ कृष्ण बहादुर थापालाई सरसफाइ सामाग्री सहित प्रमाणपत्रले सम्मान गरिएको थियो भने संस्थाको गतिविधिलाई संचारमाध्यममार्फत प्रचारप्रसार गरेको भन्दै पत्रकारद्वय पुष्पराज अधिकारी र भिमसेन पौडेललाई नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित गरिएको छ।
यसैगरी बनक्षेत्रमा लागेको डडेलो नियन्त्रणमा उल्लेखनीय भुमिका निर्वाह गर्ने उपभोक्ता सुभद्रा घिसिङ र सरिता घलानलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूह मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, अस्मिता नेपालकी अध्यक्ष आरती पाठक, रानी वन उपभोक्ता समुहका उपाध्यक्ष केशव धिताल, समुहका सल्लाहकार रघु आचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए । ७१ हेक्टर क्षेत्रफलमा फैलिएको समूह २०७३ सालमा सर्वमान्य गणेशमान सिं वन पुरस्कार तृतीयबाट पुरस्कृत भएको थियो ।

