मकवानपुर । राष्ट्रिय सभामा फागुन २० गतेबाट रिक्त हुने १९ पदमा माघ १२ गते बुधबार निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्यअन्तर्गत बागमती प्रदेशमा रिक्त हुने २ सिटका लागि बुधबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय हेटैडाले जनाएको छ ।
प्रदेश निर्वाचन अधिकारी तथा सहायक निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलका अनुसार हेटौंडा–८ स्थित औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा १ महिला र १ अन्य पदमा राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको २ मतदान स्थल तयार गरिएको छ । सोही अनुसार मतदान अधिकृत तथा अन्य कर्मचारी समेत नियुक्त गरिएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशले जनाएको छ । मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक–फरक रहेको छ । मतदान केन्द्रमा अधिकृतसहित ८–८ जना गरी १६ जना कर्मचारी खटाइएको छ ।
कोभिड–१९ महामारीको कारणले स्वास्थ्य सुरक्षामा केही चुनौती देखिए पनि यसको व्यवस्थापन गरिने व्यवस्था मिलाइएको पोखरेल बताए । उनका अनुसार मतदान गर्न आउने मतदाताहरूले कोरोनाविरुद्धको २ मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने र कोरोना संक्रमित भए वा लक्षण देखिएका मतदातालाई छुट्टै व्यवस्थापन गरिएको छ । मतदान स्थलमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हेल्प डेस्कसहित स्वास्थ्यकर्मी राख्ने भएको छ ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान प्रक्रिया बिहान ९ बजेबाट सुरु भएर दिउँसो ३ बजे टुंगिनेछ भने४ बजेपछि मतगणना सुरु हुनेछ । बागमती प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३७ जना प्रमुख र उपप्रमुखहरुले मतदान गर्ने र १ सय ९ जना प्रदेशसभा सदस्यहरुले मतदान गर्ने गरी १/१ मतदान केन्द्र स्थापना गरिएको छ ।
मंगलबार मतदान स्थलको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अवलोकन गरेका छन्। मंगलबार दिउँसो मतदान प्रकृया र मतदान स्थलको व्यवस्थापन बुझ्न मुख्यमन्त्री पाण्डे मतदान स्थल औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृह पुगेका थिए।
अवलोकनका क्रममा मुख्य निर्वाचन अधिकृत श्रेष्ठ र प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख पोखरेलले मतदान प्रकृया,मतदान केन्द्रको बारेमा अवगत गराएका थिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मतदान स्थलको सुरक्षा अवस्थाको बारेमा जानकारी गराएका थिए।
राष्ट्रिय सभा सदस्य बन्न ६ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुँदै छ । सत्तारुढ गठबन्धनका २ जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट २ जना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३ सय ४६ मतदाता रहेका छन् । मतदातामा प्रदेश सभा सदस्य १ सय ९ जना र प्रदेशका १ सय १९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३७ रहेका छन् । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ ।
विवेकशील साझा र राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगर्ने
विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने भएका छन् । बुधबार हुने निर्वाचन प्रक्रियामै उक्त दल सहभागी नहुने भएको हो । विवेकशील पार्टी संसदीय दलको मंगलबार दिउँसो काठमाडौंमा बसेको वैठकले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।
विवेकशील साझाको वाग्मती प्रदेशसभामा ३ जना सदस्य रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा हाल उम्मेदवार रहेको कोही पनि ठिक नलागेका कारण मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए । यस दलले अघिल्लो राष्ट्रियसभाको निर्वाचनमा समेत मतदान गरेको थिएन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पनि ले बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने तथा अन्य ६ वटा प्रदेशमा हुने निर्वाचन प्रक्रियामा भाग नलिने भएको छ । पार्टीकाे सोमबार बसेको पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धनका २ जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट २ जना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन् ।
राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरु प्रदेशमा उसका उम्मेदवार छैनन् ।

