मकवानपुर । राष्ट्रिय सभामा फागुन २० गतेबाट रिक्त हुने १९ पदमा आज बुधबार निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा रिक्त हुन लागेकाे पदकाे लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।
राष्ट्रिय सभामा रिक्त हुने पदमध्ये नेकपा एमालेका तर्फबाट ८ पद रिक्त हुँदै छ । यस्तै, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ सदस्यको पदावधि सकिँदै छ । निर्वाचन आयोगले ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ ।
राष्ट्रियसभा सदस्यको चुनावको बागममती प्रदेशमा तयारी पुरा भएकाे छ । १९ पदकाे लागि आज हुने राष्ट्रियसभा सदस्य चुनाव अन्तर्गत बागमती प्रदेशमा रिक्त हुने २ सदस्यका लागि चुनाव हुने भएकाे हाे । हेटौंडा–८ स्थित औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा १ महिला र १ अन्य पदमा राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको २ मतदान स्थलका तयार गरिएकाे छ । साेही अनुसार मतदान अधिकृत तथा अन्य कर्मचारी समेत नियुक्त गरिएकाे प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशले जनाएकाे छ ।
बागमती प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३७ जना प्रमुख र उपप्रमुखहरुले मतदान गर्न र १ सय ९ जना प्रदेशसभा सदस्यहरुले मतदान गर्ने गरी १/१ मतदान केन्द्र स्थापना गरिएकाे छ । मतदान केन्द्रसँगै मतपत्रको रङ पनि फरकफरक हुने छ । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले गर्नुहुने मतको मतभार १८ र प्रदेशसभा सदस्यहरुले गर्नुहुने मतको मतभार ४८ रहने छ ।
चुनावमा मतदान गर्न आउने मतदाताहरुमध्ये केहीलाई कोरोना संक्रमण हुनसक्ने भएकाले बेग्लै व्यवस्था गर्ने तयारी भएपनि निर्वाचन आयोगले मतदान केन्द्र बेग्लै बनाउन निर्देशन नदिएकाले संक्रमित मतदाताहरु पहिचान गरी सुरक्षित साथ मतदान गराउन अन्य मतदातालाई केही समय रोकेर भएपनि मतदान गराउन सकिने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।
निर्वाचन आयाेगले सातै प्रदेशमा गरी ४३ जना उम्मेदवारको उम्मेदवारी कायम भएको जानकारी दिएकाे छ । जसमध्ये नेकपा (एमाले)बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी)बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवार छन् ।
गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका ८ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १÷१ सिट पाउने गरी भागबन्डा गरिसकेका छन् । १९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले ५÷५ सिट तथा जसपालाई २ र जनमोर्चालाई एक सिट परेको हो । गठबन्धनसहित अघि बढेका सत्तारूढ दललाई राष्ट्रिय सभा निर्वाचनमा थप नाफा हुने देखिँदा एमालेलाई भने चुनौती थपिएको छ ।
कुल ५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका ७, एकीकृत समाजवादीका ७, जसपाका २, लोकतान्त्रिक समाजवादीबाट १, स्वतन्त्र १ र मनोनित ३ जना सदस्य छन् ।
निर्वाचनमा स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता कायम भएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
सातवटै प्रदेशका आठ मतदान स्थल रहेकामा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा २ मतदान स्थल र बाँकी प्रदेशहरुमा १/१ वटा मतदान स्थल रहेका छन् ।
प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान स्थल तोकिएको छ । यसैगरी प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।
यसैगरी मधेश प्रदेशका लागि महेन्द्रनारायण निधी भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान स्थल ताेकिएकाे छ ।
लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
विवेकशील साझा र राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगर्ने
राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगर्ने भएका छन् ।
बुधबार हुने निर्वाचन प्रक्रियामै उक्त दल सहभागी नहुने भएको हो । विवेकशील पार्टी संसदीय दलको मंगलबार दिउँसो काठमाडौंमा बसेको वैठकले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । विवेकशील साझाको वाग्मती प्रदेशसभामा ३ जना सदस्य रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा हाल उम्मेदवार रहेको कोही पनि ठिक नलागेका कारण मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए । यस दलले अघिल्लो राष्ट्रियसभाको निर्वाचनमा समेत मतदान गरेको थिएन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पनि ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन् ।
राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरु प्रदेशमा उसका उम्मेदवार छैनन् ।
राष्ट्रियसभाकाे निर्वाचनमा उम्मेदवारी दिनेहरुकाे नामाबली
प्रदेश–१
अन्य समूहः गुरु बराल (एमाले), गोपालकुमार बस्नेत (कांग्रेस), अमरबहादुर विष्ट (राप्रपा)
महिलाः सुमित्रा भण्डारी (एमाले), जयन्ती राई (एकीकृत समाजवादी), रञ्जु प्याकुरेल (राप्रपा)
अल्पसङ्ख्यकः सोनाम गेल्जेन शेर्पा (एमाले), हेमराज राई (जसपा)
मधेस प्रदेश
अन्य समूहः उस्मान अन्सारी (एमाले), मोहम्मद खालिद सिद्दीकी (जसपा)
महिलाः विना साह (एमाले), उर्मिला अर्याल (माओवादी), रूपाकुमारी यादव (लोसपा)
बागमती प्रदेश
अन्य समूहः गोपाल शाक्य (एमाले), कृष्णप्रसाद पौडेल (कांग्रेस), कृष्ण तामाङ (नेमकिपा)
महिलाः निरकुमारी ‘निरु’ कुँवर दर्लामी (एमाले), गोमा तिम्सिना (एकीकृत समाजवादी), गीता काफ्ले (नेमकिपा)
गण्डकी प्रदेश
अन्य समूहः पुण्यप्रसाद पौडेल (एमाले), सुरेश आले मगर (माओवादी)
महिलाः लीला पोखरेल थनेत (एमाले), कमला पन्त (कांग्रेस)
दलितः अर्जुन सुनाम (एमाले), भरत सुनार (माओवादी)
लुम्बिनी प्रदेश
अन्य समूहः रामदयाल गुप्ता (एमाले), युवराज शर्मा (कांग्रेस)
महिलाः भारती खनाल (एमाले), राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी)
दलितः कृष्णबहादुर सुनार (एमाले), राजेश विश्वकर्मा (जनमोर्चा)
कर्णाली प्रदेश
अन्य समूहः चूडामणि शर्मा (एमाले), उदय बोहरा (एकीकृत समाजवादी)
महिलाः गंगा थापा महत (एमाले), दुर्गाकुमारी गुरुङ (कांग्रेस)
अल्पसङ्ख्यकः पदमबहादुर माझी (एमाले), नरबहादुर विष्ट (माओवादी)
सूदुरपश्चिम प्रदेश
अन्य समूहः डिल्लीराज भट्ट (एमाले), नारायण मिश्र (कांग्रेस)
महिलाः सन्तोषकुमारी शर्मा (एमाले), मदनकुमारी ‘गरिमा’ शाह (एकीकृत समाजवादी)
दलितः नरेश विक (एमाले), जगत पार्की (माओवादी)

