मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा–९ मा शनिबार गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ७३ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
वडा कार्यालयको आयोजना तथा तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–९, हेटौंडा सिमेण्ड उद्योग लिमिटेड र सिआन पुनर्स्थापना केन्द्रको सहयोगमा शिविर शिविर राखिएको थियो ।
शिविरमा मुटु, नसा, सुगर, हाडजोर्नी तथा पाठेघरको जाँच गरिएको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए । स्वास्थ्य जाँच गराएका मध्ये १ सय ६० जनाको पाठेघरको जाँच गरिएको थियो । जाँच गराएका महिलाहरुमा जटिल स्वासथ्य समस्या नदेखिएको भण्डारीले बताए । सामान्य समस्या भने जचाँएका मध्ये ६० प्रतिशतमा रहेको पाइएको शिविरमा उपस्थित स्त्री रोग विशेषज्ञ डाक्टर तरन्नुम खातुनले जानकारी दिइन् ।

शिविरको लागि वीरगंजका डाक्टर खातुनसहित मुटु, पेट, छाती, डाइविटिज रोग विशेषज्ञ डाक्टर रोशन कुर्मी, नसा रोग विशेषज्ञ डाक्टर परमानन्द शाह, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ अजय यादव तथा प्रेसर तथा चिनी रोग विशेषज्ञ डाक्टर जमिल अख्तर तथा हेटौंडाकी डाक्टर सुस्मा हुज्दार ले स्वास्थ्य जाँच गरेका थिए ।

साथै वीरगंजबाट नै आएका अहेबहरु, परिवार नियोजन संघका स्टाफ नर्सहरु, चुरेहिल अस्पतालका स्टाफ नर्स तथा लामसुरे शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले सहयोग गरेकाे हेटौंडा सिमेण्ड उद्योग लिमिटेडका स्वास्थ्य अधिकृत विनाेद लामीछानेले बताए ।
वडावासीको स्वास्थ्यप्रति सचेत हुनु आफ्नो जिम्मेवारी भएकोले वार्षिक रुपमा यस्ता शिविरहरु राख्दै आएको अध्यक्ष भण्डारीले बताए । शिविरमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको समेत उपस्थिती रहेको थियो । शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महतले नागरिक स्वास्थ्यमा समयमै चासो राख्नाले ठुला जोखिमहरु टार्न सकिने भएकोले सचेत हुन आग्रह गरे ।
तस्बिर साैजन्य:विनाेद लामीछाने

