मकवानपुर । नेकपा एमाले मकवानपुरको ११ औं अधिवेशन अन्तर्गत शनिबार हुने तय भएकाे निर्वाचन प्रक्रिया स्थगित भएकाे छ । नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयासकाे लागि पुष २५ गते आइतबार बिहान ८ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको हाे ।
नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको भन्दै निर्वाचन प्रक्रिया आइतबार बिहानसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिका रामेश्वर रानाले जानकारी दिएका हुन् । शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार बेलुकादेखि नै निर्वाचन प्रक्रिया सुरु भएको थियो । शुक्रबार अबेर रातीसम्ममा उम्मेदवारी दर्ता गरेर दावीविरोध, उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरी शनिबार बिहानदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । सहमतिको प्रयास गरिएको भन्दै निर्वाचन समितिले उम्मेदवारले नाम फिर्ता लिने समय लम्याउँदै आएको थियो ।
शनिबार दिउँसो निर्वाचन समितिले सहमतिकै लागि निर्वाचनको प्रक्रिया स्थागित गरिएको जानकारी गराएको छ । निर्वाचनको प्रक्रिया अगाडि नबढाएको भन्दै अधिवेशन प्रतिनिधिले भने नारावाजी गरेका छन् । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्षका लागि एकालाल श्रेष्ठ र बद्रिप्रसाद लम्सालले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ५ वटा गाउँपालिकाबाट सर्वसम्मत सदस्य चयन भएका छन् । राक्सिराङ, बागमती, मकवानपुरगढी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा महिला तथा खुला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भूगोल अन्तर्गत ५ पालिकाबाट जिल्ला सदस्य चयन निर्विरोध निर्वाचित भएका हुन् ।
योसँगै एमाले मकवानपुरको ३३ जिल्ला कमिटी सदस्य निश्चित भइसक्दा ५ पदाधिकारीसहित ७२ जनाको लागि १ सय ६६ आकांक्षी बिच मतदान हुने भएको हाे । जसमा १२ जना भने पदाधिकारीमा उठेकाले स्वतः सदस्य पदको उम्मेदवार पनि रहने गरी दोहोरिएका छन् । चुनाव हुनेमा ५ पदाधिकारीका लागि १२ जनाबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । १६ खुला सदस्य पदमा ५२ जनाबिच र १४ महिला खुला सदस्य पदमा २२ जनाबिच मतदान हुने भएको छ ।

