मकवानपुर । कवि शान्ति प्रियवन्दनाकाे कविता संग्रह “जिल खाइरहेकाे एक्काइसौं शताब्दी” शनिबार हेटाैडामा विमाेचन गरिएकाे छ । सर्जक सजाल मकवानपुरको आयोजनामा कविता संग्रहकाे विमाेचन भएको हाे ।
वरिष्ठ कवि समालाेचक कुन्ता शर्मा, साहित्यकार विन्दु शर्मा, समालोचक घनश्याम घिमिरे, सर्जक सजाल मकवानपुरका संरक्षक कवि निमेष निखिल,लेखक केदार न्याैपाने, कृतिकार शान्ति प्रियवन्दना, उनकी आमा मैना सुवेदी र छोरा दृष्टान्तले एकसाथ कृति विमोचन गरेका थिए ।
कविता संग्रह जिल खाइरहेकाे एक्काइसौं शताब्दीकाे बारेमा समालाेचकहरू घिमिरे, कुन्ता शर्मा र विन्दु शर्माले आआफ्नाे धारणा राखेका थिए । मकवानपुरका कवि नवराज शर्मा र ह्यगृब आचार्यले शुभकामना टिप्पणी गरेका थिए भने प्रकाशित कविता संग्रहबाट मकवानपुरका भावना सापकाेटा, झापाका माया मितु न्याैपाने, र राैतहटका रेनुका जिसीले १–१ कविता वाचन गरेकाे थिए ।
कार्यक्रममा कवि शान्तिले पहिलाे कविता २०५४ मा छापिएपछी साहित्यमा निरन्तर लागेकाे बताइन् । कविकाे जिल खाइरहेकाे एक्काइसौं शताब्दी साहित्यमा पहिलाे संग्रह हाे । कविता बाहेक निबन्ध , गजल मुक्तक र अखबारीय लेखनमा समेत सक्रिय रहेकी कवी प्रगतिशील लेखक संघ मकवानपुरकाे वर्तमान अध्यक्ष हुन् ।
कार्यक्रममा शर्माद्वय, घिमिरे, निखिल, माया मितु न्याैपाने जीसीलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । मकवानपुरे कवि निखिलकाे सभाध्यक्षता र कुन्ता शर्माकाे प्रमुख आथित्यतामा विमाेचन कार्यक्रम भएकाे थियाे । रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको कविता संग्रहमा ३५ वटा कविता समेटिएको छ ।


