मकवानपुर । मकवानपुरमा रहेका सहारकाी सस्थाहरुले साधारण सभा धमाभम गर्न थालेका छन् । शनिबार हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २२ औं वार्षिक साधारणसभामा भएकाे छ ।
सहकारीको बचत ४४ करोड ७५ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ को अन्तिम हिसावमा सहकारीको बचत ४४ करोड ७५ लाख रुपैयाँ देखिएको हो । सहकारीको सेयर सदस्य ५ हजार ६ सय ७ जना हुँदा सेयर पुँजी ३ करोड ८७ लाख रुपैयाँ पुगेको सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा भएको साधारणसभामा असल बचतकर्ता, असल ऋणीलाई सम्मान गरिएको छ । यस्तै सहकारीले उत्कृष्ट कर्मचारीको रुपमा प्रशासन तथा ऋण शाखाकी प्रमुख रिता पौडेललाई सम्मान गरेको छ ।
२२ औ साधारणसभाले नयाँ सञ्चालक समिति समेत चयन गर्नेछ । साधारणसभाको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल, हेटौंडा–७ का वडा अध्यक्ष राजन थापा, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको आतिथ्य रहेको थियो । हेटौंडा–७, नागस्वतीमा मुख्य कार्यालय रहेको सहकारीको सेवा केन्द्र हेटौंडा–८ कमाने र हेटौैंडा–१६ हटियामा रहेको छ ।
पाञ्चायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा
हेटौंडा–४ स्थित पाञ्चायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा शनिबार भएको छ । बुधबारबाट सुरु भएको साधारणसभा शनिबार सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष प्रेमलाल श्रेष्ठको सभाध्यक्षमा भएको समापन कार्यक्रममा सहकारीका सल्लाहकार डा. गणेश बलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन्। श्रेष्ठले कोरोना महामारीका कारण बन्दाबन्दी र निषेधाज्ञाले संस्थालाई सेवा दिन अत्यन्त असहज भएको र लक्ष्य अनुरुप प्रगति हासिल गर्न नसकेको बताए । सचिव अक्कल सिंह लामाले ७ सय २० शेयर सदस्यको १ करोड ५८ लाख ५८ हजार रुपैयाँ शेयर रकम रहेको बताए । सहकारीले ७६ करोड ३ लाख रुपैयाँ कारोबार गरेको जनाइएको छ ।
साधारणसभामा सहकारीले ज्येष्ठ नागरिक सदस्य मिनु कुमारी थिङ र असल बचत तथा ऋणी सायदा खातुनलाई सम्मान गरेको छ । कार्यक्रममा सहकारीका व्यवस्थापक चन्द्रनाथ श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र बर्तौला, लेखापरीक्षक मणिप्रसाद सुवेदी लगायत सेयर सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा
हेटौंडा–४, पारिजातपथस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा शनिबार भएको छ । सहकारीका अध्यक्ष आयुष कुमार डोटेलको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो ।
साधारणसभालाई सम्बोधन गर्नुहुँदै बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले सहकारीलाई नियम, कानुन अनुसार सञ्चालन गर्न आग्रह गरे । ‘सहकारीले समुदायमा आधारित भएर लघुउद्यम सञ्चालन गर्नुपर्नेमा ध्यान दिनु पर्छ’ उपाध्यक्ष देवकोटाले भने– ‘सदस्यहरुले नै सहकारीको उचित नियमन गरिरहनुपर्ने हुन्छ ।’ साधारणसभामा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष डोटेलले आर्थिक वर्ष २०७७/७८ मा सेयर पुँजी ९३ लाख ६८ हजार रुपैयाँ रहेको जानकारी दिए ।
यस्तै सहकारीले ७ करोड ८७ लाख रुपैयाँ बचत संकलन गर्नुका साथै ५ करोड ५४ लाख रुपैयाँ ऋण लगानी गरेको उनले बताए । वार्षिक साधारणसभाको अवसरमा सहकारीले संस्थापक अध्यक्ष वीरेन्द्र भट्ट, असल बचतकर्ता रमेश मानन्धर र असल ऋणी सरस्वती सापकोटालाई सम्मान गरेको छ ।
राष्ट्रसेवक सहकारीकाे बचत ६ करोड ५८ लाख ५३ हजार २ सय
राष्ट्रसेवक बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत ६ करोड ५८ लाख ५३ हजार २ सय बीस रहेको छ । आर्थिक वर्ष २०७७/७८ को अन्तिम हिसावमा सहकारीको बचत ६ करोड ५८ लाख ५३ हजार २ सय बीस रुपैयाँ हो । सहकारीको शेयर सदस्य ५ सय २५ जना रहेकोमा शेयर पुँजी १ करोड ७ लाख ४६ हजार २ सय रहेको छ ।
शनिबार सहकारीको २२ औं वार्षिक साधारणसभामा सहकारीको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादविन्द्र पौडेलले सहकारीको गल आवको ऋण लगानी ४ करोड २३ लाख ९३ हजार २ सय सत्र रहेको जानकारी दिए । साधारणसभामा असल बचतकर्ता, असल ऋणीलाई सम्मान गरिएको छ ।
