मकवानपुर । नेकपा माओवादी केन्द्रमा पदाधिकारी संख्या बनाइने भएकाे छ । शुक्रबार बसेको स्थायी समिति बैठकले पदाधिकारी संख्या बढाएर १५ जना बनाउने सहमति गरेको हो। हालकाे व्यवस्था अनुसार माओवादीमा ५ जना पदाधिकारी रहने व्यवस्था छ।
पदाधिकारीको टुंगो लगाउन गठन गरिएको कार्यदलका संयोजक देव गुरुङले स्थायी समिति बैठकमा प्रस्ताव पेश गरेका थिए। त्यसमाथि छलफल गर्दै १५ पदाधिकारी बनाउने सहमति भएको हाे। स्थायी समितिले पारित गरेको प्रस्ताव केन्द्रीय समितिमा पेश हुनेछ । त्यसपछि मात्रै कुन पदमा कति जना रहने भन्ने टुंगो लाग्ने पार्टीले जनाएकाे छ।
माओवादीको राष्ट्रिय सम्मेलन ११-१३ पुसमा काठमाडौंमा हुँदै छ। त्यसअघि बस्ने केन्द्रीय समितिले बैठकले पदाधिकारीबारे निर्णय गर्नेछ। शुक्रबारकाे स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

