मकवानपुर । मकवानपुरको भीमफेदीबाट शनिबार राति चोरी भएको शालिक भेटिएकाे छ । लोककवि गणेशलाल श्रेष्ठको शालिक आइतबार अनावरण गर्ने गरी राखिएकाेमा शनिबार चाेरी भएकाे थियाे ।
भीमफेदी–६ स्थित चिसापानी पुल मुनी सोमबार अपरान्न ४ बजेर ४५ मिनेटको समयमा शालिक भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले फेला पारेकाे शालिक इलाका प्रहरी कार्यालय भीमफेदीमा राखिएको छ ।
भीमफेदीमै जन्मेर लोककविको उपाधि पाउनुभएका गणेशलाल श्रेष्ठको सम्मानमा नागरिकस्तरबाटै भीमफेदी–६, भीमफेदी बजारस्थित ज्योति पुस्तकालय परिसरमा शालिक स्थापना गर्न लागिएको हो । लोककवि श्रेष्ठको शालिक आइतबार अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो ।
शालिक बरामद भए पनि प्रहरीले शालिक चोरीमा संलग्नलाई पहिचान गर्न सकेको छैन । शालिक चाेरी भएकाे घटनाकाे अनुसन्धान जारी रहेकोले घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने मकवानपुर प्रहरीले जनाएकाे छ ।

