मकवानपुर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा ओलीले १ हजार ८ सय ८ मत पाउँदा उनका प्रतिद्वन्दी अर्का अध्यक्षका उम्मेदवार भीम रावलले २ सय २३ मत पाएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।
यसै गरी नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १ हजार ९ सय ७६ मत ल्याएर निर्वाचित भएकी हुन् ।
उपाध्यक्षमा रामबहादुर थापा बादलले १ हजार ७ सय ६८ मत, सुवास नेम्वाङ नेम्वाङले १ हजार ८ सय ६५ मत, सुरेन्द्र पाण्डेले १ हजार ९ सय २५ मत , विष्णु पाैडेलले १ हजार ८ सय ५६ मत युवराज ज्ञवालीले १ हजार ८ सय ४२ मतका साथ निर्वाचित भएका छन् । तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७ सय २५ मत पाएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराएका थिए ।
एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो।

