मकवानपुर । तिहारको तेस्रो दिन आज कार्तिक १८ गते लक्ष्मीपूजा गरी मनाइदैछ । आज बिहान घर आँगन लिपपोत गरी बेलुका दीपावली गरी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ । साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत सरसफाइ गरी दीपावली गरिन्छ । कार्तिक कृष्ण औँसीको रातलाई वर्षभरी मनाइने चार प्रमुख रात्रिमध्ये सुखरात्रि पनि भनिन्छ ।
लक्ष्मी पूजाका लागि आँगनदेखि मुलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ ।
मैनबत्ती बाल्ने चलन बढ्दै गए पनि दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएकाे धर्मशास्त्रविद् बताउँछन् । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
लक्ष्मी पूजाका अवसरमा सहर बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ । परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
कार्तिक कृष्ण चतुर्दशीमा नदी, तलाउ वा धारामा गइ स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइएकाे छ । कुकुर तिहार र नरक चतुर्दशी तिहारको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन हिजो र नरक चतुर्दशी तेस्रो दिन आज परेको हाे ।

