मकवानपुर । नेपालीहरुको दास्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक कार्तिक १६ गते मंगलबारबाट सुरु भएको छ । मंगलबार साँझ यमदीप दान गरेर तिहारको सुरुवात गरिएकाे छ । यमदीप दान, धनत्रयोदशी (धनतेरस) तथा धन्वन्तरी जयन्ती आज मंगलबार नै परेकाे छ । साेही अनुसार तिहारकाे सुरुवात भएकाे छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीप दान गर्ने शास्त्रीय विधि छ । यमदीप दान गरेमा यमराजको यातनाबाट मुक्ति पाइने धार्मिक विश्वास छ । तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म ५ दिन मनाइने गरिन्छ ।
तिहार आजबाट सुरु भए पनि तिथिको घटबढका कारण काग तिहार र कुकुर तिहार दुबै कार्तिक १७ गते बुधबार परेको छ । कार्तिक १७ गते बुधबार काग तथा कुकुर तिहार र नरक चतुर्दशी परेको छ । कार्तिक १८ गते विहीबार लक्ष्मीपूजा मनाइँदैछ । कार्तिक १९ गते शुक्रबार गोवर्ध्दन पूजा तथा नेवारी समुदायमा म्ह–पूजा परेको छ भने कार्तिक २० गते शनिबार भाइटीका परेको छ ।
यसवर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

