मकवानपुर /हेटौंडा उपमहानगरपालिका भित्रको १९ वटै वडाबाट ३८ जना किशोरीहरूले आफूले बाल विवाह नगर्ने र बाल विवाह हुन लागेमा रोक्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिविन बाल हेल्प लाईन मकवानपुरको अभिमुखिकरण कार्यक्रममा सहभागी भएपछि उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“बालिका सशक्तीकरण गरौ” भन्ने नाराका साथ सिविन बाल हेल्प लाईन मकवानपुरले आयोजना गरेको नगर किशोरी भेलामा सहभागी भएपछि उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा हेटौंडा उपमहानगर उपप्रमुख मिना कुमारीले सामाजिक नेतृत्वको सवालमा बालबालिकाहरू पनि अग्रसर हुनुपर्ने बताइन् । बालबालिका स्वयमले सामाजिक गतिविधि बारे चासो राख्ने हो भने बाल विकासमा पहुँच पुर्याउन सकिने उनले बताइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटाले बाल विकासको सवालमा नगरले गरेको कार्यक्रम बारे जानकारी गराएका थिए ।
हेटौंडा उपमहानगरपालिकाको सबै वडाबाट प्रतिनिधि मुलक रुपमा बालिकाहरूको सहभागीता रहेको कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, बाल विवाह तथा अनलाइन दुर्व्यवहारको बारेको अभिमुकरण गरिएको कार्यक्रम अधिकृत संझना अधिकारीले बताइन् ।
नगर किशोरी सन्जाल अध्यक्ष रनिस्ला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सिविन बाल हेल्प लाईनका प्रमुख झविन्द्र ज्ञवली, अधिकृत संझना अधिकारी र परियोजना अधिकृत दुतकुमार स्यङ्तानले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी किशोरीहरूले २० बर्ष उमेर नपुगी आफूले विवाह नगर्ने र बाल विवाह हुन नदिन स्वयमसेवी रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नगरका ३८ जना किशोरीहरूको सहभागीता रहेको थियो ।
एलिसा खड्काकाे अध्यक्षतामा सन्जाल गठन
यसैबिच हेटाैडा उपमहानगरपािलका वडा न १८ की एलिसा खड्काकाे अध्यक्षतामा नगर किशोरी सन्जाल गठन गरिएकाे छ । २१ सदस्यीय सञ्जालकाे उपाध्यक्ष रनिस्ला अर्याल (हेटाैडा १७), सचिव पुष्पा तामाङ (हेटाैडा २), सह सचिव पुष्पा थापा (हेटाैडा १), काेषाध्यक्ष सुजिता न्याैपाने (हेटाैडा ७) चयन भएका छन् ।
