मकवानपुर । उपमेयर कप फुटबल प्रतियाेगितामा हेटौंडा महिला टिम समुह चरणबाटै बाहिरिएकाे छ । हेटौंडा उपमहानगरपालिका महिला फुटबल टिम उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको हाे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी प्रतियोगितामा समुहचरणको दोस्रो खेलमा पराजित हुँदै हेटौंडा उपमहानगरपालिका पहिलो चरणबाटै बाहिरिएको हो ।
शुक्रबार बिहान भएको खेलमा तुलसीपुर उपमहानगरपालिकासँग २–० गोलअन्तरले पराजित हुँदै हेटौंडाले जारी प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको हो । यसअघि बुधबार भएको खेलमा हेटौंडा गैंडाकोट नगरपालिकासँग १–० गोलअन्तरले पराजित भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७६ औं र ७८ औं मिनेटमा तुलसीपुरकी ममता पुन मगरले गोल गर्दै टिमलाई जीत दिलाएकी हुन् । ।
प्रतियोगितामा हेटौंडासहित ३१ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता तथा उपविजेता टिमले क्रमशः ५ लाख रुपैयाँ र ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दुबै टिमले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्थान बनाउनेछन् ।

