मकवानपुर । सहकारी विकासको लागि साधारणसभा नै मार्ग दर्शक हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब शरणकुमार पाण्डेले बताएका छन् । सहकारीमा भएको समस्यालाई साझा समस्याको रूपमा लिएर समाधान गर्न सहकारी सदस्यहरूले नै तत्परता देखाउनु पर्ने पाण्डेले बताए ।
मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको १८ औ बार्षिक साधारण सभामा शुक्रबार उनले यस्तो बताएका हुन् । सहकारीहरूको समस्या समाधानको लागि सहकार्य गर्न मन्त्रालय सहजीकरणको लागि तयार रहेको उनले बताए । “सहकारीको समस्यामा सरकारले सहजीकरण गर्छ, अरू समस्या थप्छ भनेर नहच्किनुहोस” उनले भने । सहकारीलाई उत्पादन मुलक काममा जोड्नको लागी, उत्पादनलाई बजारीकरण गर्नको लागि सरकारले सधैं हातेमालो गर्ने उनले बताए । “सहकारीबाटै कृषिको विकास हुनेमा सरकार ढुक्क रहेको छ” उनले भने ।
कार्यक्रममा दुग्ध बिकास बोर्ड बागमती प्रदेश कार्यकारी उपाध्यक्ष टिकाबल्लभ सापकोटाले सरकारले सहकारीलाई यसको योगदान अनुसार न्यायपुर्ण दृष्टि नराखेको गुनासो गरे । ऐन कानुनको कारण भएका समस्या, एकीकरणको क्रममा हुने झमेलाहरूमा सरकारले सहजीकरण गरिदिनुपर्ने सापकोटाले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका बद्री प्रसाद लम्सालले सहकारीहरूको पारदर्शी कामले सर्वसाधारणको जीवनस्तर माथि उकास्न धेरै महत्त्वपूर्ण योगदान गरेको बताए । यसैगरी जिल्ला बचत संघ अध्यक्ष कल्पना श्रेष्ठले सहकारीको कारण गाउँगाउँमा समृद्धि भित्र्याएको बताइन् ।संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रम सचिब सर्मिला श्रेष्ठले सन्चालन गरेकी थिइन् ।




