मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा उद्घोषण तथा व्यक्तित्व विकास तालिम सुरु भएको छ । बकैया गाउँपालिका सामाजिक विकास शाखाको आयोजना २ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिमको सुरू गरिएको हो ।
कक्षा ११ र १२ का विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिममा बुद्ध माविका ५५ जना विद्याथीहरुकोे सहभागिता रहेको महिला तथा बालबालिका शाखाका प्रमुख कविता शर्माले जानकारी दिइन् ।
तालिम सञ्चालनको पहिलो दिन सहभागीहरुलाई उद्घोषण सम्बन्धी विभिन्न विषयमा रुपक कालिराजले प्रशिक्षण दिएका थिए । आफूहरुलाई मध्यनजर गरी सञ्चालन गरिएको तालिमले थप आत्मविश्वास बढाउने अपेक्षा लिएको तालिममा सहभागीहरुले बताएका छन् । सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस तालिमको आयोजना गरिएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले अब विद्यार्थीहरुको बिचबाट कार्यक्रम संचालन गर्न उद्घोषक उत्पादन गर्नु यस कार्यक्रमको उद्देश्य रहेको बताइन । बोलखेले पालिकाले यो नयाँ अभ्यास गरेको भन्दै कार्यक्रमलाई प्रभावकारी कसरी बनाउने भन्ने उद्घोषकको हातमा हुनेहुँदा कुशल उद्घोषक बन्नको लागि उनले आग्रह गरिन् ।
त्यस्तै बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले महत्वपुर्ण तालिम भएको भन्दै बोल्ने कलाको विकास गर्नु आजको आवश्यकता रहेको बताए । उनले तालिमले पालिकाको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पालिकाले पहिलो चरणमा बुद्ध माविमा र दोस्रो चरणमा महेन्द्र उच्च मावि छतिवनमा कार्यक्रम संचालन गर्ने जनाएको छ । सो तालिममा बुद्धमाविका प्रार्चाय प्रेम बहादुर बोम्जन, विद्यालयका लेखापाल श्याम दाहाल लगायतको आथित्यता रहेको थियो ।

