मकवानपुर /बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री पाण्डे सहित ३ जना मन्त्रीहरुले विहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता राजेन्द्र पाण्डेले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै ३ जान मन्त्रीहरुलाई पनि सपथ गराएका हुन् । यस पटकको मन्त्री मण्डलमा मकवानपुरले अर्की नेतृले पनि मन्त्री बन्ने अवसर पाएकी छिन् ।
अष्टलक्ष्मी शाक्यले १० कात्तिकमा राजीनामा दिएपछि विपक्षी गठबन्धनका तर्फबाट पाण्डेले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पाण्डेलाई र पाण्डेले मन्त्रीहरु कुमारी मोक्तान, कृष्ण खनाल र कृष्ण भडेललाई सपथ खुवाएका हुन्। कांग्रेसका तर्फबाट भँडेल, माओवादीका तर्फबाट मोक्तान र एकीकृत समाजवादीका तर्फबाट खनाल मन्त्री हुने भएका हुन् ।

भडेललाई भौतिक पूर्वाधार मन्त्रालय, मोक्तान सामाजिक विकास मन्त्रालय र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेसका भँडेल भक्तपुर १ ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका हुन्। त्यस्तै, माओवादीकी मोक्तान मकवानपुर २ ‘ख’ बाट र एकीकृत समाजवादीका खनाल चितवन २ ‘ख’ बाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन् ।
यसअघि खनाल शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए। उनले मन्त्रीबाट राजीनामा दिएर एकीकृत समाजवादी रोजेका थिए ।
एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट ५९ सांसदको हस्ताक्षर सहित पाण्डेले बुधबार नै दाबी पेश गरिसकेका थिए ।

