मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा पेश गरेको बिश्वासको मन लिने प्रस्ताबमा आज बुधबार मतदान हुने भएको छ । अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री शाक्यले गत कार्तिक ४ गतेको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकि थिइन ।
मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार दिउँसो हेटौंडा स्थित बागमती प्रदेशको प्रदेशसभामा बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसुची अनुसार पक्ष बिपक्षमा मतदान हुन लागेको हो ।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ ।
एमाले विभाजनको संघारमा शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन् ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीको विपक्ष गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेको छ ।
बागमतीमा सभामुखसहित १सय ९ सांसद छन् । शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने छ तर एमालेसँग ४३ मत मात्र छ । कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत रहेको छ । राजनीति घटनाक्रमले नयाँ मोड नलिए वा प्रदेश सभा बैठक स्थगित नभए बागमती प्रदेशले तेस्रो मुख्यमन्त्रीको रुपमा धादिङका राजेन्द्र पाण्डेलाई पाउने छ । प्रदेश सभा बैठक आज १ बजे बस्दै छ ।

