मकवानपुर । कात्तिक ४ गते विहीबारकाे लागि यस अघी नै तय भएकाे बागमती प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयलाई आग्रह गरेको छ । लिखित पत्र पठाउँदै एमालेले कात्तिक ४ काे प्रदेशसभा बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो ।
बैठक कात्तिक ११ गतेका लागि बोलाउन एमालेले ३ कात्तिकमा लिखित प्रस्ताव गरेको हो । कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र सो अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुन नसक्ने कारण देखाउँदै बैठक ११ गते सार्न नेकपाका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा समक्ष लिखित प्रस्ताव गरेका हुन् ।
प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत असाेज २४ गते विश्वासको मतको लागि संसदमा प्रस्ताव पेश गरेकी थिइन् । साेही अनुसार कात्तिक ४ गते सम्मकाे लागि बैठक स्थगित गर्दै साेही दिन प्रदेश सभा बैठकमा शाक्यले विश्वासको मत लिने कार्यक्रम रहेको थियो । बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूचि समेत रहेकाे प्रदेश सभा सचिवाललयले जनाएकाे छ ।
मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ता पेस गरेकी थिइन् । सो प्रस्तावमाथि कात्तिक ४ गतेकाे बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रमुख सचिव खड्का अनुसार, ४ कात्तिकका हुने प्रदशे सभाको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिसकिएको छ ।
भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । नेकपा (एमाले) विभाजन भएसँगै एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् । मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछी विश्वासको मत लिन लागेकी हुन्।
बागमती प्रदेश सभामा रहेका कुल १ सय १० सदस्यमध्ये हाल १ सय ९ सांसद छन्। जसमा एमालेका ४३, नेपाली कांग्रेसका २२, माओवादी केन्द्रका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका ३, नेमकिपाका दुई, राप्रपाका २ र स्वतन्त्र सांसद १ जना छन्।


