- डबल महर्जन (एम्बुलेन्स चालक)
जब दशैं नजिकिंदै गर्छ एउटा घटनाको याद आउँछ । २०४५ सालको कुरा हो । महानवमीकाे दिन थियाे घरमा दशैको लागि खसी ढालेको मात्रै थिएँ । घरभरी बालबच्चा र आफन्तहरु दशैको मान्ने रौनकमा थिए । बिरामी भारतको पटना स्थित मेडिकल लैजानु पर्ने भनेर खबर आयो । आँगनमा ढालेको खसि, सिङ्गै उचालेर पिँढीमा छोपछाप पारेर हतार हतार बिरामी बोकेर एम्बुलेन्सको साइरन बजाउँदै पटना तिर हाँकिएँ । आफूलाई पो दशैंको रौनक छाएको थियो । एम्बुलेन्समा बिरामी लिएर हिंडेपछि बिरामी र बिरामीका आफन्तहरु छटपटाइरहेको देख्दा घरको माहोल भुले । बिरामीको चित्कारले त्यो बिरामीलाई कतिबेला पटना अस्पताल पु-याएर डाक्टरको जिम्मा लागउँ भन्ने भइरहेको थियो ।
प्रायः बिरामी भारतको डंकन अस्पताल लैजान्थे । एम्बुलेन्स लिएर हेटौंडाबाट भारतको डंकन पुग्न ४५ मिनेटदेखि १ घण्टा लाग्थ्यो । तर त्यो दिन दुर्घटनाको बिरामी पटना लैजानु थियो । त्यहाँ पुग्न ४ घण्टा लाग्थ्यो । बिरामीको छटपटाहट देख्दा जैले पनि यो समय अति लामो जस्तो लाग्ने । तर म आत्तिएर के गर्नु, संयमता अपनाउँदै बिरामीलाई हस्पिटल पु¥याउँथे । त्यो दिन पनि त्यसै गरे । बिरामी पु-याएर अफिस (हेटौंडा) आइपुग्न भने ५ देखि ६ घण्टा बढी लाग्थ्यो बिरामी बोकेर जाँदा पो साइरन बजाउँदै जान्थे । बाटो खालि खालि हुन्थ्यो, बिना बिरामीको गाडीले साइरन बजाउन पाउँदैन। फर्कदा अन्य सवारी कै रफ्तारमा फर्कनु पथ्र्यो, समय बढी लाग्थ्यो । हेटौंडा फर्कने बित्तिकै अर्को बिरामी बोकेर काठमाण्डौं हानिनु प-यो । भोलीपल्ट पनि आधा रातमा घर आइपुगे ।
गर्मिकै मौसम झण्डै २३ घण्टा अगाडि ढालेको खसीको मासु गन्हाउने भएछ । आफू नहुँदा त्यो मासु टुक्र्याउने/व्यवस्थापन गर्ने कोही थिएन । घरमा जे थियो घरकाहरुले पकाएर खाएछन् । प्लास्टिकले छोपेर राखेको पिँढीको खसी त्यही गन्हाएछ । सिङ्गै फाल्नुपरो । त्यसपछि हालसम्म कुनै पनि दशैंमा मेरो घरमा खसी ढालिएको छैन ।
छाक–छाक पसलबाट किनेर ल्याइन्थ्यो । त्यो पनि म परिवारसँग बसेर खानै पाउन्नथे । थालमा मासु चिउरा मुस्दामुस्दै बिरामी बोकेर हिड्न परेपछि कयौं पटक त्यो मुसेको मासु चिउरा टपरीमा पोको पारेर बिरामी बोकेर हिडेको छु । बिरामीलाई अस्पताल पु-याउने अनि फर्कदा बाटोमा जहाँ पानी भेटिन्छ त्यही एम्बुलेन्स रोक्दै टपरीमा ओसिएको चिउरा र मासु खाँदै गर्थे ।
के दशैं के तिहार । न दिदीबहिनीले साइतमा टिका लगाउन खोज्दा पनि म उपलब्ध भएँ न साथभाईहरुले गेटिङ टुगेदर गर्न खोज्दा । सधैं बिरामी र बिरामीका आफन्तहरुसँगको यात्राले मलाई दिनदिनै जिम्मेवार र मानवीय सेवामा तल्लिन हुन सिकायो । हाँसो, रमाइलो र ख्यालठट्टाभन्दा पनि तनाव र मलिन अनुहारहरुले घेरिएको हुन्थे हरपल नै । सपनामा पनि बिरामी बोकेको नै देख्थे, आफ्नो परिवारको सदस्य बिरामी भएर एउटा अस्पतालमा भर्ना गरेको छ, आफू अरु बिरामी बोकेर दौडिरहेको हुन्थे ।
उपचारको क्रममा मैले मेरो २१ वर्षको छोरी गुमाएको छु । परिवारको सदस्य गुमाउँदाको पीडा म राम्रोसँग बुझ्छु । त्यसैले पनि आफ्नो (एम्बुलेन्सको ढीलाइको) कारणले गर्दा कसैको ज्यान नजाओस् भनेर सधैं मेरो तपस्या (ध्यान) हुन्थ्यो । धेरै रात अनिदो हुँदा पनि एम्बुलेन्स चलाएँ । यस्तो बेला बिरामीका आफन्तलाई आफू अनिदो रहेको बारेमा पहिलै जानकारी गराउँथे । र बेलाबेलामा कुराकानी गरेर जागा राख्नको लागि आग्रह गर्दथे । उहाँहरुले पनि सकारात्मक नै लिनु हुन्थो । मैले भने बमोजिम नै गर्नुहुन्थ्यो ।
एम्बुलेन्ससँग जोडिएको रोजिरोटी
२९ वर्षको उमेरदेखि मैले एम्बुलेन्स चलाएको हुँ । त्यसअघि ९ वर्ष ट्रक चलाएको थिएँ । अनरवत ३३ वर्ष एम्बुलेन्स मात्रै चलाएँ । त्यतिबेला नारायणी अञ्चलमा अरु एम्बुलेन्स थिएन । त्यै एउटा एम्बुलेन्स, मै एकमात्रै एम्बुलेन्स चालक । अञ्चल भरीका सबै ठाउँका बिरामी बोक्न पुग्नु पथ्र्यो । एउटा मात्रै एम्बुलेन्स र म एक मात्रै एम्बुलेन्स चालक भएकोले पालो फेरो पनि हुन्न थ्यो । न कुनै दिन एम्बुलेन्स खालि राख्न पाइन्थो, न मैले कुनै दिन फुर्सद पाउँने थिए । दिन रात नभनी बिरामी बोकेर हिड्दा बस्ने खानेको टुड्डको हुँदैनथ्यो ।
आफैं पनि बिरामी पर्थे तर, बिरामीका आफन्तले लौन अस्पताल लैजान परो भनेर विलौना गरेको देख्दा बिस्तार बिस्तारै लगिदिउँ, मैले गर्दा न उहाँ बाच्नु हुन्छ कि भन्ने लाथ्यो । अनि औषधि खाँदै एम्बुलेन्स चालाउँथे । के को आराम गर्न पाउनु ।

धेरै सिरियस बिरामी पटना लगिन्थ्यो, अन्य बिरामी बोकेर प्रायःजसो भारतको डंकन अस्पताल, काठमाण्डौको वीर अस्पताल, र चितवनको महेन्द्र (हाल भरतपुर) अस्पताल लैजानु पथ्र्यो, हेटौंडामा हेटौंडा अस्पताल थियो । चितवनको भरतपुर अहिले मेडिकल सिटी भयो । तर उबेला त्यै एउटा अस्पताल मात्रै थियो । जहाँ बिरामी खासै जाँदैनथे साधारण उपचार मात्रै हुने गथ्र्यो त्यहाँ । हेटौंडा अस्पतालमा पनि साधारण उपाचर मात्रै हुन्थ्यो । प्रायः अलि शिरियस बिरामीहरु भारतको डंकन नै लैजानु पथ्र्यो । त्यहाँ बिरामी पु¥याएको ३ सय रुपियाँ भाडा लाथ्यो । हेटौंडा नगर क्षेत्रभित्रबाट स्थानीय अस्पताल ल्याएको चाँही २५ रुपियाँ थियो भाडा ।
सधैं बिरामीको चित्कार तर दिक्क मानिन कहिल्यै
आफ्नो परिवारसँग भन्दा बढी समय बिरामीसँगै नै भइन्थ्यो । बिरामीहरुको चित्कार सुन्दा सुन्दा मनभित्र माया जागेर आउथ्यो । एम्बुलेन्समा बिरामीका आफन्तहरुको रुवाबासी हुन्थ्यो । जतिसक्दो चाँडै अस्पताल पु-याउन पाए, बिरामीको दुखाई र आफन्तको आँसु रोकिने थियो भन्ने मात्रै लाथ्यो मनमा । बिरामी र उनीहरुको आफन्तको रुवाइले मलाई अहिल्यै झिँजो लागेन । समयमा अस्पताल पु¥याएपछि निको भएर फर्केका बिरामी तथा उनीहरुको आफन्तले कुनै दिन भेट्दा उनीहरुको मुहारमा देखिने खुसी नै मेरो लागि काममा उर्जा हुन्थ्यो संधै ।
अहिले जस्तो हैन उबेला बिरामी एकदम गलिसकेपछि मात्रै अस्पताल लैजाने तरखर गरिन्थ्यो । जसको कारण उनीहरुको जीवनको संभावना कम नै हुने गर्दथ्यो । समयमै अस्पताल लैजाने र स्वास्थ्यको खतरा कम गराउने तर्फ सचेत थिएनन् उबेला । बिरामी भएपछि झारफुक धामीझाँक्री गरेर नै समय खर्चिने गरिन्थ्यो । यो बिचमा बिरामी धेरै गलेसी अस्पताल लैजाने गरिन्थ्यो । धेरै बिरामीहरुले मेरो एम्बुलेन्समै प्राण त्यागेका छन् । त्यस्ता पीडादायि पलको के बयान गरुँ ।

एम्बुलेन्समा आफन्तहरु एक वा दुई जनामात्रै हुन्थे । बिरामीको ज्यान गएपछि उनीहरुलाई आइपर्ने समस्यामाथि मैले गर्न सक्ने के हुनु । मलाई शव बोक्ने अधिकार थिएन । जहाँ बिरामी मर्छ, त्यही छोडेर फर्केनु, शव नबोक्नु भन्ने आदेश थियो । आफ्नो कार्यालयको नियम मान्नै प-यो ।
एकातिर कार्यालयको ‘शव नबोक्नु’ भन्ने आदेश, अर्को तिर ति बिरामीका आफन्तहरुको हालत । मलाई एकदम नैतिक शंकट आइथ्र्यो, त्यस्तो बेलामा । यस्तो धेरै भोगे । बिच बाटोमा लाश र १/२ जना कुरुवालाई छोडेर म कसरी फर्कु हुन्थे । न अहिले जस्तो मोबाइल फोनको जमाना हुनु ।
अहिले त कति सजिलो छ कत्ति नि । समस्या प¥यो भनेर एक कल गरेसी साथीभाई जम्मा हुन्छन् । अहिले सम्झदा त त्यो युग नै अन्धकारको युग जस्तो लाग्छ । कार्यालयको नियम मिचेर कति लाशलाई मैले घरमा पु¥याएको छु । सयमा ३/४ प्रतिशत बिरामीले यसरी मेरो एम्बुलेन्समा ज्यान गुमाउँथे । मेरो लागि उ लाश हैन बिरामी हो, आफन्तसँगको भेटमा लगिदिनु पर्छ भन्ने सोचेर घरमा पु-याउँथे । शव नबोक्ने निर्देशन हुँदा हुँदै मैले यो जोखिम उठाएको थिएँ, मायामा भुलेर । थाहा पाए, जागिरै जाने डर हुन्थ्यो । तर पनि मानवीय सेवाको लागि मेरो मनले त्यही अह्ररायो मैले त्यही गरेँ । त्यतिबेला मेरो मासिक बेतन ६ सय १५ रुपियाँ थियो । सारा घर यसैले धानेको थिए ।अस्पतालसँग कमिसन लिनु पाप हो /
बिरामीका आफन्तलाई सबैभन्दा हतार र छटपटीको अवस्था हुन्छ एम्बुलेन्समा बिरामी रहुञ्जेल । डाक्टरको साथमा पुगेपछि त, अब केही गर्ला डाक्टरले भन्ने आशाको श्वास लिन्छन् उनीहरुले । जबसम्म एम्बुलेन्समा नै उनीहरु हुन्छन्, न यहाँ ज्यान जाने हो कि भन्ने चिन्ता हुन्छ । त्यसमाथि एम्बुलेन्स चालकहरुले तनाव दिनु हुँदैन । अहिले बिरामीका आफन्तलाई फकाउने, झुक्याउने गरेर कमिसनको लागि बिरामीलाई एम्बुलेन्स चालकहरुले आफू निकटको अस्पताल पु-याउने गरेको सुनिन्छ । जुन अस्पतालले राम्रो कमिसन दिन्छ, त्यहाँ बिरामी लैजाने गरेको र, अस्पतालसँग बिरामीको टाउको गनेर पैसा असुल्ने गरेको भन्ने सुनिन्छ । यदी यसो हो भने यो पाप हो । मानवीय सेवा भन्दा ठुलो सेवा अरु कुनै छैन । मान्छेलाई समस्यामा परेको बेलामा त्यही आपकालिन अवस्थाको फाइदा उठाएर कमिसन लिनु भन्दा ठुलो पाप के होला ?
अस्पताल प्रशासनले पनि बिरामीको चाप बढोस् भनेर एम्बुलेन्स चालकहरुलाई कमिसनको लोभ देखाउनु हुदैंछ । बिरामीको टाउको गनेर कमिसन दिनुलिनु दुबै गलत हो । यो त बिरामीको ज्यान बेचेको जस्तै हो । अपराध हो । बिरामीका आफन्तले खुसी भएर स्वइच्छाले २/४ पैसा दिनुहुन्छ भने लिनु हुन्छ । एक दुई पटक मैले पनि लिएको छु यसरी । चिया खानु, खाजा खानु भनेर दिएको पैसा लिएको छु । तर, यो अस्पताल राम्रो छ, त्यो राम्रो छैन भन्दै, अस्पतालमा आफू खुसी बिरामी लैजाने गर्नुहुदैंन । बिरामीका आफन्तले रोजेको, डाक्टरले रिफर गरेको अस्पतालमा लैजान नै हामीले सहयोग गर्नुपर्छ । एम्बुलेन्स चालकको धर्म यही हो ।
मैले काम गर्दा काम गरेकै पैसा आउन महिनौ लाग्थ्यो । बिरामी बोकर अस्पताल पुग्यो, भाडा नै नतिरेर हतार हतार बिरामी बोकेर अस्पताल भित्र पस्थे । न कुरेर बस्नु न भाडा दे भनेर पछिपछि लाग्नु । म फर्केर आउँथे, अफिसमा आएर पैसा बुझाउनु पथ्र्यो । आफूसँग भएको हिसाब बुझाउँथे । आफूलाई विस्तारै आउँथ्यो त्यो पैसा ।
अन्य साधन थिएन । बिरामी अस्पताल लैजानको लागि अफिसमा आएर बिरामीका आफन्त मलाई कुरेर बसेका हुन्थे । एउटा एम्बुलेन्स कता जानु, अनि बिरामीको अवस्था हेरेर पालै पालो गर्नुपर्न अवस्था हुन्थ्यो । आफू कुन अस्पतालको लागि कति बजे निस्केको एउटा चिटमा लेखेर टेबलमा राखेर जानकारी छोडेर जान्थे । निश्चित समयमा आइपुग्ने आँकलन गरेर बिरामीका कुरुवाहरु अफिसमा कुरेर बस्दथे । कही गएर बास बस्ने अनुमति थिएन । जतिबेला भएपनि अफिस आइपुग्नु पथ्र्यो । यहाँ आइपुग्दा अर्को बिरामी लिएर हिड्नु पर्दथ्याे, फेरी हिड्थे के निद्रा के आराम ।
बिरामी बोक्नको लागि एम्बुलेन्स खोसाखोस
३३ वर्ष एम्बुलेन्स चलाउँदाको अनुभुति धेरै रहे । त्यो मध्ये द्वन्द्वकालको समय पनि चुनौतिपूर्ण नै थियो । माओवादी र सरकारपक्षको भिडन्तमा परेर घाइते भएका बिरामी बोक्नु पर्दा चाही एम्बुलेन्स खोसाखोस जस्तै हुन्थ्यो । हुन त बिरामी जुनसुकै पक्षको होस् मेरो लागि उ बिरामी मात्रै हो । तर कहिले काँही मान्छेले पदको घमण्ड पनि देखाएर धक्म्याएका अनुभुति पनि छन् ।

सिडिओको आदेश एउटा बिरामी बोक्नको लागि हुन्छ, यता माओवादीपट्टीकाले आफ्नो बिरामी बोक्न कर गदर्थे, तर समस्या आफैं सुल्झाउँथे । कुनै पनि बिरामी लैजानु अघि डाक्टरको सिफारीससँगै सिडिओको आदेश चाहिन्थ्यो । अहिले धेरै सहज छ ।
ड्राइभरदेखि ‘स्वास्थ्यकर्मी’ र ‘सफाइकर्मीसम्म’
अरु समयमा त, म आफैंले व्यवस्थापन गर्दथे । दुर्घटनाको बिरामी, सुत्केरी हुनेवाला बिरामीलाई पहिलो प्राथमिकता दिएर बोक्ने गर्दथे । सबैभन्दा समस्या सुत्केरी हुनेवाला बिरामी बोक्दा हो । उनीहरुलाई बोकेको बेला स्पीडमा चलाउन पनि हुन्न, एम्बुलेन्स उफारेर चलायो भने, बिरामीलाई झन् झन् खतरा हुन्छ । अस्पताल पु-याउने हतार उस्तै हुन्थ्यो । बिचबाटो मै सुत्केरी भएर रक्तश्राव बढि हुन थालेपछी सुत्केरीको ज्यान नै जाने डर हुन्थ्यो ।
पटक पटक यस्तो भयो पनि । कति पटक त एम्बुलेन्समा सुत्केरी हुनको लागि मैले सहयोग पनि गरेको छु । आपतकालिन अवस्थामा के हो लाज र घिन ? सेवा ठुलो कुरा हो । समयमै उपचारमा लैजान ध्यान नदिएको कारण समस्या हुन्थ्यो । एम्बुलेन्समा सुत्केरी भएपछी एम्बुलेन्स पुरै फोहोर हुन्थ्यो । बिरामी बोक्ने साधान फोहोर राखे इन्फेक्सन हुने डर । अनि त्यो फोहोर आफैंले सरसफाई गर्थे ।
नसोचेको खुसी
बिरामी बोकेर हिडुञ्जेल कुनै दिन खुसी र रमाइलोसँग बिताउन पाइन । यस्तो गर्न पाइन भनेर मनमा खिन्नता पनि लागेन । मानव सेवा जस्तो माहान क्षेत्रमा छु भनेर सधैं गर्व नै लाग्थ्यो । काम सुरु गरेदेखि ३३ वर्षसम्म मैले घरमा परिवारसँग बसेर खान पाइन, चाडपर्वमा पनि सँगै हुन पाइन । परवारका सदस्यहरुले पनि मलाई साथ नै दिए । उनीहरुले पनि मलाई अनावश्यक प्रेसर कहिल्यै गरेनन् । एम्बुलेन्समा बिरामी बोकेर हिड्दा अरुको रुवाइले मन खिन्न भैरहन्थ्यो । कयौ दिन त घरमा आफ्नो बालबच्चा बिरामी एकातिर छोडेर अरु बिरामी बोकेर हिडेको छु । खुसीको स्मरण योग्य पलै छैनन् ।

तर जब २ वर्ष अघि रिटायर्ड भए । अनि बल्ल परवारसँग खुसीले बस्ने खाने गर्दै आएको छु । र त्यो बेलाको खुसीको ब्याज अहिले खाँदै छु । उबेला आफूले अस्पताल पु-याएका बिरामीहरु अहिले भेटिए भने खुबै आदरसम्मान गर्नुहुन्छ । उहाँहरुको ज्यान समयमा उपचार पाएर डाक्टरले बचाए । तर, उहाँहरु तपाईको कारण बचे भनेर मलाई पनि जस दिनुहुन्छ । यो भन्दा खुसी, यो भन्दा आनन्दादायी कुरो अरु के चाहियो र ? मान्छेको सेवा गर्न पाएको थिएं र त आज मान्छेले मलाई मान्छेको जस्तो व्यवहार गर्छन् ।
मैले आफूखुसी आफ्नो हितको लागि २/४ पैसा कमिसन पाउने लोभले उनीहरुको आपतकालिन अवस्थाको फाइदा लिएको भए के उहाँहरुले अहिले मलाई यति मिठो मानसम्मान गर्नु हुने थियो होला त ? त्यतिबेलाको काम गर्दाको यो खुसीको ब्याज हो । जसले मलाई रिटायर्ड जीवनमा उर्जा भरेको छ ।
अहिले एम्बुलेन्स एकाई जसले एम्बुलेन्स चालकहरुको हितको लागि लागिपरेको छ । म अहिले यसको सल्लाहकार छु । युवाहरुलाई नै अघि बढ्ने अवसर दिनुपर्छ, उनीहरु सही हुनुपर्छ भन्ने नै मेरो ध्यय हो । मेरो अहिले पनि एउटा म्याजिक छ, चालक अरुलाई राखेको छु । म अब चालकको काम नगर्ने । रेड्क्रसको एम्बुलेन्स चलाएको हुनाले पनि होला मानव सेवामा बढी मन लाग्न थाल्यो, अहिले पनि रेड्क्रस अभियानमा जोडिएको छु । बाँचुञ्जेल मानव सेवा मै लाग्ने छु, मानव हितभन्दा पर अरु कुनै हितकारी काम छैन ।
अब बाँकी जीवन पनि कुनै न कुनै तरीकाले मानव सेवामा नै समर्पित गर्नेछु । लामो समय रेड्क्रसको एम्बुलेन्स चलाएको भएर पनि हुनुसक्छ रेड्क्रसको मानवीय सेवा भावप्रति आकर्षित छु । अहिले पनि म रेड्क्रस अभियानमा जोडिएको छु ।
(सम्पादक सरिता दाहालसँग गरिएको कुराकानीमा आधारीत)

