मकवानपुर । स्वास्थ्य मन्त्री बिरोध खतिवडाले हेटौंडा अस्पतालको अवलोकन तथा निरीक्षण गरेका छन् । मकवानपुरको १ मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालको उनले निरीक्षण गरेका हुन् । सोमबार मन्त्री खतिवडाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको आइसियू कक्ष, कोभिड–१९ वार्डको समेत स्थलगत निरीक्षण गरेका हुन् ।
मन्त्री खतिवडालाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा राचन्द्र सापकोटाले अस्पतालको बिषयमा जानकारी गराएका थिए । निरीक्षण पछी अस्पतालको सुधारका लागि आफुले सहयोग गर्न तयार रहेको मन्त्री खतिवडाले बताए ।
नेकपा एकिकृत समाजवादीकाे चियापान तथा शुभकामना कार्यक्रमकाे लागि गृह जिल्ला मकवानपुर आएका मन्त्री खतिवडाले ‘विगतको पार्टीमा जनताले विश्वास गरेर निर्वाचित गर्दा पनि ठूला भन्नेहरुले पेल्ने र ठेल्ने काम गरेको बताए ।’ जनताको मत र पार्टीको निर्देशनलाई आत्मसाथ गरेर काम गर्ने उनले बताएका छन् ।
यस्तै मन्त्री खतिवडालाई सोमबार हेटौंडामा मकवानपुरका २१ वटा क्रियाशील संस्थाले स्वागत एवम् सम्मान गरेको छ । मकवानपुरको विकासमा महत्वपूर्ण योगदान पु¥यएको भन्दै ती संस्थाहरुले संयुक्त कार्यक्रम आयोजना गर्दै मन्त्री खतिवडालाई स्वागत एवम् सम्मान गरेको हो ।
उक्त कार्यक्रममा मन्त्री खतिवडाले समग्र देशको स्वास्थ्य क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताए । उनले मकवानपुर मात्र नभइ देशभरको ७७ वटै जिल्लाको स्वास्थ्य क्षेत्रको विकास आफ्नो जिम्मेवारी भएको बताए । उनले कोरोनाका कारण बालबालिकाहरु निकै नै जोखिम रहेकाले आगामी केही समयमा नै बालबालिकाहरुका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ने गरी सरकारले काम गरिहेको जानकारी दिए । उनले बालबालिकाका लागि कोरोना विरुद्धको ४० लाख डोज खोप सम्झौता भइसकेको र थप ६० लाख डोज खोप भित्राउने प्रक्रिया जारी रहेको बताए ।

