मकवानपुर /बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नवौं अधिवेशनमा विश्वासको मतको प्रस्ताव पेश गरेकी छिन् । मुख्यमन्त्री शाक्यको विश्वासको मतको लागि आगामी ४ कात्तिकका प्रदेश सभा बैठक बस्ने भएको छ ।
प्रदेश सरकारले २४ असोजमा बोलाएको प्रदेश सभाको नवौं अधिवेशन मुख्यमन्त्री शाक्यले विश्वासको मतको प्रस्ताव पेश गरेपछि सदन ४ कात्तिक दिउँसो १ बजेसम्मको लागि बैठक स्थागित गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताए । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले आजै विश्वासको मत लिने सम्भावना प्रवल रहेको चर्चा हुदै गर्दा सदन स्थागित भएको थियो ।
एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १३ सांसदले विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत दिन लागेकी हुन् ।
बागमती प्रदेशसभा कुल ११० सदस्यहरु मध्ये हाल १०९ सांसदहरु रहेका छन् । जसमा एमालेमा ४३, कांग्रेसमा २२, माओवादीमा २३, समाजवादीमा १३, विवेकशील साझामा ३, नेमकिपामा २, राप्रपामा २ र स्वतन्त्र सांसद एक जना छन् ।
नेपालको संविधानको धारा १८८ (२) अनुसार शाक्यले विश्वासको मतको लागि सदनमा प्रस्ताव पेश गरेकी हुन् । २४ असोजमा बसेको प्रदेश सभाको दास्रो बैठक मुख्यमन्त्री शाक्यले विश्वासको मतको लागि प्रस्ताव पेश गरेपछि ७ मिनेटमै स्थागित गरिएको थियो ।
