मकवानपुर । बागमती प्रदेश सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले गैर सरकारी संस्थाहरूले सामाजिक सेवाको उद्देश्य राखेर काम गर्दा अवसर प्रर्याप्त भएको बताएकी छन् । पहिले सामाजिक क्षेत्रमा काम गर्दा चुनौती र संघर्ष भए पनि हाल सेवा भावले काम गर्दा अवसर धेरै भएको उनले बताइन् ।
नारी सीप सृजना केन्द्र २५ औं साधारणसभा, ११ औं अधिवेशन तथा सामाजिक परीक्षणमा उनले भनिन् ‘समितिको नेतृत्वमा चयन हुन चाहने तर काममा दुख गर्न नचाहने व्यक्तिले संस्थाको हित गर्न सक्दैन ।’ नारी सिप सिर्जना केन्द्रको गरिमालाई कायम राख्दै संस्थागत विकास र कार्यक्षेत्रमा लागि परिरहन उनले आग्रह गरिन ।
कार्यक्रम केन्द्रको संस्थापक अध्यक्ष तथा राष्ट्रिय समाबेशी आयोग कार्यबाहक अध्यक्ष बिष्णु ओझाले संविधानको मुल मर्म अनुसार समाबेशीता र संघीयतालाई सम्बोधन गर्ने काममा समाबेशी आयोगले काम गर्दै आएको बताउँदै गैससहरूको योगदान पनि यही क्षेत्रमा रहने बताइन् । “सम्पन्न वर्गलाई छोडेर बिपन्न बर्गको लागि हामीले काम गर्नुपर्छ” उनले भनिन् । जात र लिङ्ग मात्रै हैन वर्गको उत्थानमा लाग्नुपर्ने ओझाले बताइन् ।

मनहरी गाउंपालिका उपाध्यक्ष मनिला बिष्ट, हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका योजना शाखा प्रमुख भीमप्रसाद तिमल्सिना, गैसस बागमती प्रदेश उपाध्यक्ष आरती पाठक, माइती नेपाल मकवानपुर प्रमुख माया लामालगायतले सामाजिक विकासको पाटोमा केन्द्रको योगदान रहेको बताएका थिए ।
सामाजिक परिक्षण कार्यक्रममा गैससहरूलाई ठगिखाने निकायको रूपमा लिने गरेको र गैससकर्मीहरूलाई अपमानित व्यवहार गर्ने गरेकोले पीडाबोध भएको गैससकर्मीहरूले गुनासो गरेका थिए । केन्द्रको अध्यक्ष सरस्वती बर्तौलाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा अध्यक्ष बर्तौलाले आर्थिक पाटो पारदर्शी गर्दै सामाजिक काम गर्नमा नारी सीप सफल रहेको बताइन् । कोरोना महामारीको कारण संस्थाले अपेक्षित काम गर्ने अझै नसकेको बर्तौलाले बताइन्। कार्यक्रम केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष रेणु गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

