मकवानपुर । नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटि गठन भएकाे छ । पार्टीकाे बागमती प्रदेश कमिटि भेलाले २ सय ३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । भेलामा प्रादेशिक इन्चार्ज/सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ ग्रहण गराएका थिए । प्रदेश इन्चार्ज केदार न्यौपानेले पार्टीकाे कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गरेकाे भेलामा स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी विषय प्रस्तुत गरेका थिए ।
प्रदेशभित्र सञ्चालन गरिने राजनीतिक गतिविधि, तिनका कार्य विभाजन, नेतालाई आवश्यकतानुसारको जिम्मेवारी प्रदान गर्न छलफल गरिएको छ । सङ्गठनलाई शुद्धीकरण, सुदृढीकरण र विस्तार गर्नेलगायत विषयमा छलफल भएको छ ।
परिवर्तित अवस्थामा पार्टीको केन्द्रीय तहसँग समन्वय र समझदारी गरी प्रभावकारीरूपमा राजनीतिक गतिविधिका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्न सहभागीले भेलामा सुझाव दिएका छन् ।

