मकवानपुर । नेपाल प्रहरीको ६६ औं प्रहरी दिवस, २०७८ का अवसरमा आइतबार हेटौंडामा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा हेटौंडाको कर्रा खोला किनारमा आज वृक्षारोपण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नं.५ क्याम्पाडाँडास्थित कर्रा खोलाको किनारमा रहेको खाली स्थानमा अमला,आँप, कटहर लगायत विभिन्न प्रजातिका बोटविरुवाहरु रोपिएकाे हाे ।
वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्की, मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर, प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी, सामुदायीक सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम बिष्ट, सामुदायिक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनी, सामुदायीक उप सेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कंडेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, विभिन्न संघ संस्थाको प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधी, भद्रभलादमी र स्थानिय सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।
यस्तै ६६ औ प्रहरी दिवसको अवसरमा माक्स बितरण गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौंडाको विभिन्न स्थानमा माक्स बितरण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १० बुद्धचोक र हेटौडा–११ थानाभर्याङमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “तपाईको माक्स खै ?” कार्यक्रममा माक्स वितरण गरिएकाे हाे । दुवै स्थानमा गरी माक्स २ हजार ६ सय ५० थान मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । साथै, सवारी साधनहरुमा जनचेतनामुलक पर्चा २ सय थान र स्टिकर ७ सय थान समेत टाँस गरिएको रिमालले बताए ।


