मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकाे आज असाेज ९ गते शनिबार मकवानपुरका १० वटै स्थानीय तहमा गाँउ–नगर अधिवेशन हुँदैछ । असाेज ८ गते शुक्रबार १० वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाइएको कांग्रेस मकवापनुरले जनाएकाे छ । मकवानपुरको १० स्थानीय तहमध्ये सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन हुने कांग्रेस मकवानपुरको कार्यबाहक सभापति विष्णु लामिछानले बताए ।
गत भाद्र २० गते भएको वडाअधिवेशनले मकवानपुरको १ सय २ वडाबाट क्षेत्रिय प्रतिनिधिमा १८ सय ३४ जना चयन गरेको थियो । मकवानपुरको हेटौंडा उपमहानगरमा भने कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षधरका नेताहरुले नगर सभापतिमा आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । हेटौंडा उपमहानगर सभापतिमा देउवापक्षका उत्सब इटेनी र रामचन्द्र पौडेल गुटका महेन्द्र राउत प्रतिस्पर्धामा छन् । उनीहरु दुवैलाई सहमति गराउने प्रयास जारी भएपनि शुक्रबार सहमति हुन नसकेपछि हेटौंडामा मतदान हुने भएको कांग्रेस मकवानपुर पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । हेटौंडामा ४ सय २० जना क्षेत्रिय प्रतिनिधिले मतदान गर्ने छन् ।
यसैगरी मकवानपुरको थाहा नगरपालिकाको १२ वडाबाट १ सय ९८ जना क्षेत्रिय प्रतिनिधि, मकवानपुरगढीमा १ सय ३७, राक्सिराङ १ सय ५४, कैलाश १ सय ७९, ईन्द्रसरोवर ७८, भीमफेदी १ सय ५७, बकैया १ सय ९४, बागमती १ सय ५४ र मनहरी १ सय ६३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गर्न पाउँनेछन् । यसमध्ये काग्रेस मकवानपुर सभापति, संघीय सभापतिसहित ७ जना क्षेत्रीय प्रतिनिधि थप हुने कांग्रेस मकवानपुरले जनाएकाे छ ।
मकवानपुर सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरका स्थानीय तहका १ सय २ वडामध्ये ८९ वडामा सर्वसम्मत ढंगले निर्वाचन सकिएकाले गाउँ/नगरको अधिवेशन पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार असाेज ९ गते शनिबार ६४ जिल्लामा पालिकामा अधिवेशन हुँदैछ । यसअघि वडा अधिवेशन भईसकेका जिल्लाका गाउँपापालिका, उपमहानगरपालिका र नगरपालिकामा पालिकास्तरीय अधिवेशन हुने भएको हो । क्रियाशिल विवादका कारण वडा अधिवेशन हुन नसकेका जिल्लामा भने अधिवेशनको मिति अझै टुंगो लागेको छैन ।

