मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पौने २ क्वीन्टल गाँजा सहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले गोप्य सूचनाको आधारमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ११ थानाभ-याङबाट गाँजा सहित २ जना पक्राउ गरेको हो । उत्तरी मकवानपुरको पालुङबाट बिरगंज तर्फ जाँदै गर्दा थानाभ-याङमा मर्मत गर्दै गरेको ना ३ ख ५९५० नंम्बरको ट्रक चेकजाँच गर्दा उक्त ट्रकभित्र फल्स बटम बनाई लुकाई ल्याएको लागुऔषध गाँजा १ सय ७५ किलो फेला पारेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार ट्रक चालक मकवानपुर भिमफेदी गाउँपालिका ९ बस्ने ३१ वर्षीय मोहन स्याङतान र सोही ट्रकमा सवार मकवानपुर थाहा नगरपालिका ३ बस्ने २४ वर्षीय प्रशन्त कार्कीलाई पनि नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा, ट्रक सहित नियन्त्रणमा लिइएको २ व्यक्तिलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

