मकवानपुर /मासुको प्रयोजनको लागि राष्ट्रिय जनावर गाई काटेको आरोपमा मकवानपुरका १० जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।
मकवानपुर बकैया गाउँपालिका वडा–११ मा गाई काटेको गोप्य सूचनाको आधारमा स्थलगत अनुगमन गर्दा गाईको मासु फोला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमिक्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार गाईको मासु सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
‘हात्तिसुँडे प्रहरी चौकीबाट खटिएको टोलीले उक्त स्थानमा गाई काटी मासु भाग लगाईरहेको भेटेको थियो’ प्रनि दासले भने । उनका अनुसार मकवानपुर बकैया गाउँपालिका वडा नं. ९ बस्ने ५० वर्षीया सञ्चमाया ब्लोन, १९ बर्षीय सोमार ब्लोन, ४२ वर्षीया फुलमाया थिङ, १८ वर्षीय सन्देस बि.क., बकैया गाउँपालिका वडा नं. ११ का ३९ वर्षीय जनक बहादुर लो, वडा नम्बर ४ का ४८ वर्षीय प्रल्हाद भक्त न्यासुर रहेका छन्।
यसैगरी बकैया गाउँपालिका कै वडा नं. ९ का ४० वर्षीय सोम बहादुर तमाङ, वडा नं. ११ का ४३ वर्षीय राज कुमार घलान,४० वर्षीय रबिन्द्र लो र ३३ वर्षीय पम्पराज लो रहेका छन् । उनीहरुको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

