मकवानपुर । हेटाैडा ४ मा रहेकाे नारी संरक्षण केन्द्रले सहयोगीलाई सम्मान गरेकाे छ । बेचबिखनमा परेका तथा विपन्न परिवारका बालबालिकाको संरक्षण गर्दै आएको संरक्षण केन्द्रले बीसौं बार्षिक साधारणसभाकाे अवसरमा आइतबार सहयोगी संघ, संस्थालाई सम्मान समेत गरेको छ ।
संस्थाका उपाध्यक्ष भिष्मराज सापकोटाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उद्घाटन कार्यक्रममा केन्द्रकी सचिव प्रतिकला चौधरीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संरक्षण र शिक्षा परियोजनाअन्तर्गत केन्द्रले २ जना बालक र २६ जना बालिकालाई आवासीय सुविधासहित संरक्षण गरिराखेको सचिव चौधरीले जानकारी दिइन् । यस्तै नारी संरक्षण केन्द्रकी कोषाध्यक्ष प्रिस्किला तामाङले आर्थिक बर्ष २०७७/७८ मा ८७ लाख ३१ हजार अनुदान सहयोग प्राप्त भएको र ८६ लाख २० हजार रुपैयाँ खर्च भएको जानकारी दिइन् ।
संरक्षित बालबालिकाको परिवारको आयआर्जनका लागि सिलाई तालिमका साथै उपकरण सहयोग सहयोग गर्दै आएको बताइएको छ । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनको मापदण्ड लागू गर्न भने कठीन भएको केन्द्रले जनाएकाे छ।

