मकवानपुर / जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले जिल्लाको स्थानीय तहलाई संक्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्न दिने निर्णय गरेको छ । गत चैत महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्थाहरू खोल्ने र नखोल्ने बारे अब सम्बन्धित स्थानीय तहहरूले निर्णय गर्न सक्ने गरि अधिकार दिइएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।
उनका अनुसार अब स्थानीय तहले स्थानीय तहमा संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गराउँदै विद्यालय संचालन गर्न सक्नेछन् ।
जिल्लामा आजको दिनमा ३ सय ९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २८२ जना आफ्नै घरमा र २७ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । शैक्षिक संस्था संचालन गर्दा जनस्वास्थ्यको मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने छ । यसबारे सम्बन्धित निकायले नियमित अनुगमन समेत गर्ने तयारी गरिएको छ ।

