मकवानपुर / हात हातमा मोबाइल, मोबाइलमा इन्टरनेट पहुँच, इन्टरनेट तथा गुगलमा साँघुरीएको विश्व । खोज गर्न चाहेको विषय वस्तु एक क्लिक मै फेला पर्ने प्रविधिसँगै घट्दै आएको छ पुस्तकालय धाउने प्रचलन । पछिल्लो पुस्ताहरु पुस्तकालय धाएर पुस्तक तथा पत्रपत्रिका पढ्ने संस्कृती बारे लगभग अनविज्ञ हुन थालेका छन् ।
इन्टरनेटले साँघुरो बनाएको दुनियाँबाट लोप हुँदै आएको पुस्तकालय शिक्षा प्रणालीलाई मकवानपुरमा भने ब्युँताउने अभियान नै थालिएको छ । लामो समयदेखि बन्द रहेको पुस्तकालयहरु केही युवाहरुको पहलमा मकवानपुर जिल्लामा पुनः सुरु गर्ने र नयाँ खोल्ने अभियान नै थालिएको हो । प्राध्यापक तथा पत्रकार सुरेश श्रेष्ठ पछिल्लो समय प्राध्यापन र पत्रकारीतासँगै पुस्तकालय स्थापना गरी पठन संस्कृतीको विकासमा लागि परेका छन् ।
लोप हुँदै गएका विविध विषयहरुको अध्ययन, अनुसन्धान तथा खोजका लागि सहयोगी बन्न सक्ने पुस्तकालय शिक्षा प्रणाली आफैं मा लोप हुनथालेपछि यस क्षेत्रमा विशेष चासो र चिन्तन राख्नेहरुको लागि आफूहरुको अभियान सहयोगि बन्ने श्रेष्ठले बताए । मकवानपुरमा खोलिएका सामुदायिक तथा संस्थागत पुस्तकालयहरु आर्थिक अभाव तथा मानवीय निक्रियताका कारण पुस्तकालय शिक्षामा रम्नेहरु केही वर्षयता एकाएक घट्दै आएपछि यो अभियान थालिएको हो ।
हेटौंडाको चौघडामा नवजीवन ज्योति क्लबद्वारा सञ्चालित शान्ति पुस्तकालय १५ वर्षपछि अभियान टोलीको सकृयतामा हाल पुनः सुरु गरिएको छ । २० वर्षअघि ठेलामा पत्रपत्रिका र पुस्तकहरु लिएर पाठकहरुलाई ठाउँ ठाउँमा वितरण गर्दै अध्ययनको सेवा पु-याउने पुस्तकालय क्लबको एउटा कोठा मै सिमित थियो । विषेशतः गृहेणी, बालबालिका र सावारी चालकहरुलाई मध्यनजर गरी पुस्तक, पत्रपत्रिकाहरु वितारण गर्ने गरेको थियो ।
सञ्चारको बहुप्रयोगका कारण पुस्तकालय शिक्षामा चासो राख्नेहरु नै कम भएपछि पाठककै अभावमा पुस्तकालयहरु बन्द गर्नुपरेको थियो । पछिल्लो पटक यसवर्ष पुस्तकालय अभियान टोलीको सक्रियतामा पुस्तकालय व्यवस्थित रुपमा सुरु गरिएको छ । यसैगरी हेटौंडा–१, चौकीटोलस्थित नवज्योति पुस्तकालय पुनः सञ्चालनमा आउने भएको छ । पुस्तकालय पुनः सञ्चालनका लागि स्थानीयको भेलाले उत्सव ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय पुस्तकालय सञ्चालन तथा व्यवस्थापन तदर्थ समिति गठन गरिएको स्थानीय सन्तोष पराजुलीले जानकारी दिए । २०४७ सालमा स्थापना भएको पुस्तकालय २०५७ सालदेखि बन्द भएको थियो ।
पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा विगतमा बन्द रहेका र नयाँ स्थापना गरेर पुस्तकालय सञ्चालमा ल्याउन थालिएको छ । पुस्तकालय पुनः सञ्चालनका लागि पुस्तकालय अभियान समूहले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्दैै आएको छ । १५ भदौ अर्थात् राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालय अभियान समूहले हेटौंडा–१, चौकीटोलस्थित नवज्योति पुस्तकालयसँगै मकवानपुर जिल्लामा ७ स्थानमा ७ वटा पुस्तकालय एकैदिन स्थापना गर्ने तयारी गरिरहेको अभियान समूहका सदस्य रोशन खनालले जानकारी दिए ।
स्थानीय सहकारी तथा टोल समूहहरुले समेत सञ्चालनमा ल्याएका कयौं पुस्तकालयहरु बन्द रहेको बेला मकवानपुरको पुस्तकालय सञ्चालन अभियान टोलीले पठन संस्कृतिको विकासको लागि योगदान गरेको पत्रकार सुरेश श्रेष्ठले बताए । “पठन संस्कृति हराउँदै गयो अनि हामीले यो पहल थालेका हौ” पत्रकार श्रेष्ठले भने ।
हेटौंडामा रहेको पुष्पलाल स्मृति पुस्तकालय धिमा गतिमा सञ्चालित छ । यहाँ पहिले जस्तो पाठकको चाप नभएको तर,बन्द नै गर्नुपर्ने अवस्था पनि नभएको पुस्तकालय व्यवस्थापनले जनाएको छ । पुस्तकालयलाई आर्थिक संकटबाट मुक्त राख्न नै सबै भन्दा मुख्य समस्या हुने गरेको छ ।
यसो त एशियाकै ठूलो पुस्तकालयको दाबी गरिंदै आएको हेटाैंडाको वन विज्ञान अध्ययन संस्थानको पुस्तकालयमा बाह्य पाठकहरुले प्रवेश गर्ने अवसर पाएका छैनन् ।
शहरमा रहने र सञ्चारको पहुँचलाई समात्न सक्ने विद्यार्थीहरु पुस्तकालयभन्दा मोबाइल र इन्टरनेमा रमाउँछन् । समयको सदुपयोग गर्न मोबाइल इन्टरनेट नै सहज भएपनि पुस्तक पढ्नुको मज्जा मोबाइलको इन्टरनेटले दिनै नसक्ने बताउँछन् साहित्यकार तथा प्राध्यायक घनश्याम घिमिरे ।
“व्यस्त जीवन शैलीको कारण पठन संस्कृती पनि विस्तारै लोप हुदैं आएको छ” मकवानपुर बहुमुखि क्याम्पसका उपप्राध्यापक निरा शर्मा गुरागाईले भनिन् “कामको व्यस्तताबाट बचेको समय आराम र मनोरञ्जनमा लगाउने धेरै छन्,फेसबुक टीकटकलगायतको सामाजिक सञ्जालमा समय बिताउनेहरु बढेका छन्,अध्ययन र खोजको लागि त्यति ध्यान जाँदैन अचेल ।”
‘पुस्तकालयमा पसेर पुस्तकहरु खोजिरहने समयमा इन्टरनेटबाट धेरै जानकारी बटुल्न सकिन्छ’ हेटौंडा–५ का रोजिन श्रेष्ठले भने । “पुस्तकहरुमा भन्दा इन्टरनेटमा अपडेट सामग्री पाइने भएकोले पुस्तकालयको पाठक घटेका हुनसक्छन” श्रेष्ठले भने “तर, पुस्तक तथा पत्रपत्रिकाको महत्वलाई कम आँक्न भने हुन्न ।” अभियानकर्मीहरुले स्थानीय स्तरबाट पनि पुस्तक संकलन अभियान समेत सञ्चालन गर्दै आएको छ ।
मकवानपुर जिल्ला बकैया गाउँपालिकामा पुस्तकालय निर्माण अगावै समुदायस्तरबाट सयौं पुस्तकहरु पुस्तकालयको लागि प्राप्त भएको अभियानकर्मी गोबिन्द चौलागाईले बताए ।
आज एकै दिन ५ वटा पुस्तकालय सुरु गरिदै
१४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर आज मंगलबार पुस्तकालय अभियान समूह मकवानपुरले जिल्लाका ५ स्थानमा पुस्तकालय सुरुवात गर्न लागेको छ ।
हेटौंडा–१ मा चौकिटोलमा नवज्योति पुस्तकालय, हेटौंडा–१८ दोभान चौरमा दोभानचौर सामुदायिक पुस्तकालय, बकैया गाउँपालिका–७, हात्तीचरणमा हात्तीचरण सामुदायिक पुस्तकालय, मकवानपुरगढी गाउँपालिका–५, धादिङमा हाम्रो सामुदायिक पुस्तकालय, भीमफेदी गाउँपालिका–४, निबुवाटारमा ज्ञानज्योति पुस्तकालय आजबाट सुरु गरिदै छ ।
पुस्तकालय अभियान समूहले यसअघि जिल्लाका ५ स्थानीय तहमा ६ वटा र छिमेकी जिल्ला बाराको निजगढ नगरपालिकामा एउटा गरी ७ वटा पुस्तकालय स्थापना गरिसकेको छ ।
