मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका तत्कालिन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घिमिरे सहित सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र दिनेशप्रसाद जयसवलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
जिल्ला वन कार्यालय, बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि, बाँसको कलमी बिरुवा उत्पादन वा खरिद तथा सदुपयोगको लागि खरिद गर्दा रकम हिनामिना गरेको देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
उनीहरुविरुद्ध ४ लाख ९० हजार रुपैयाँ विगो मागदावी गरिएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय (घ) बमोजिम सजाय माग गरिएको छ ।

