मकवानपुर । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री भएकी छन् । बुधबार शाक्यले बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएकी छन् ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्री शाक्यलाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो । दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा शाक्य संविधानको धारा १६८ (१) अनुसार बहुमतको आधारमा नियुक्त भएकी हुन् । राति ८ बजे शपथ लिने गरी तयारी गरिएको भएपनि साँढे डेढ घण्टा ढीलोगरी सपथको कार्यक्रम सुरु गरिएको थियो ।
मुख्यमन्त्री शाक्यले बुधबार नै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्ति गरेकी छन् ।
नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो सहज बनेको थियो । मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरुलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाटसमेत राजीनामा दिएको घोषणा गरेका थिए । उनले प्रदेश प्रमुख विष्णु प्रसाईंलाई राजीनामा बुझाएका थिए । मन्त्रिपरिषद्को बैठकपश्चात् मन्त्रालयगत सचिवहरुसँग भेटेर उनले बिदा लिएको र धन्यवाद दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले बताए ।

केन्द्रीय राजनीतिमा नेकपा एमाले विभाजन भएसंगै बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजिनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको हो । बुधबार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा बसेको संसदीय दलको बैठकमा पौडेल स्वयम्ले नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्ताव बहुमतले पारित गर्दै नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गरी प्रदेशसभा सचिवालयमा परिवर्तनको सूचनासमेत पठाएको प्रमुख सचेतक दीपक निरौलाले बताए ।
बुधबार नै मुख्यमन्त्री पौडेलले राजीनामा दिएको र प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । यसको लागि प्रदेश प्रमुख प्रसाईं गृह जिल्ला झापाबाट बुधबार साँझ प्रदेश राजधानी हेटौंडा आएको थिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै माधव पक्षले ‘नेकपा एमाले समाजवादी’ दर्ता गरेपछि शाक्यलगायत एमालेका दोस्रो तहका दर्जन नेताहरुले माधव नेपालको साथ छाडेका छन् ।
यसअघि बागमती प्रदेशमा माधव पक्षको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने तयारी स्वरुप पौडेलले संसदीय दलको नेताबाट राजिनामा दिएका हुन् । एमालेको माधव पक्ष र ओली पक्ष दलगत हिसाबले एउटै भएकाले पौडेलको सत्ता टिकिरहेको थियो ।

यसअघि पनि बारम्बार पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन एमालेकै माधव पक्षका सांसद्हरुले माग गर्दै आएका थिए । बागमती प्रदेशमा कूल ११० जनामध्ये १०९ जना सांसद रहेकोमा सरकार गठन गर्न ५६ जना सांसद चाहिन्छ । नेकपा एमालेको ५६ जना सांसद रहेका छन् । जसमध्ये केपी ओली पक्षका ३४ जना र माधव नेपाल पक्षका २२ जना सांसद रहेका छन् । शाक्यलाई दलको नेता चयन गर्न बसेको बुधबारको बैठकमा भने ४९ जना मात्रै सांसदको उपस्थिती रहेको थियो भने बाँकी ७ जना अनुपस्थित थिए।
यद्यपी, माधव पक्षका अर्का प्रभावशाली नेता एवम् बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे माधव नेपालले दर्ता गरेको नयाँ दलको केन्द्रीय सदस्यमा रहेका छन् ।

