मकवानपुर । प्रदेशकाे चालू वर्ष २०७८/२०७९ काे नीति, कार्यक्रम तथा बजेट पास भएपछि पहिलाे पटक भदाै १ गते मंगलबार प्रदेश सभाकाे बैठक बसेकाे छ । भदाै १ गते बसेकाे प्रदेश सभा बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाइए पछी पछी प्रदेशसभा नियमावली मस्यौदा समिति गठन प्रस्ताव पेश भएकाे छ । सांसद जुनेली श्रेष्ठले प्रदेशसभा नियमावली २०७४ को संशोधन गर्न नियमावली मस्यौदा समिति गठन गर्ने प्रस्ताव सभामा दर्ता गरेकी हुन् ।
यसै गरी प्रदेशसभामा केही प्रदेश ऐन संशोधन विधेयक समेत टेबल गरिएकाे छ । आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले ९ वटा ऐन संशोधनको विधेयक पेश गरेका छन् ।
श्रेष्ठले दर्ता गरेकाे नियमावली मस्यौदा समितिमा बागमती प्रदेशको कांग्रेस सचेतक छिरिङ दोर्जे लामा, एमाले बागमती प्रदेशको प्रमुख सचेतक दीपक निरौला, सांसदहरु निमा लामा, मणिराज फुयाँल, मिना ज्ञवाली, रत्नप्रसाद ढकाल रहेका छन् । यसैगरी रीता माझी, बसन्त मानन्धर, शशीजंग थापा, शोभा शाक्य, शान्तिप्रसाद पौडेल, सीता अधिकारी र सुरेन्द्रराज गोसाईं पनि समितिमा छन् । उक्त समिति निर्माणको प्रस्तावमा माओवादी बागमती प्रदेशको प्रमुख सचेतक बुद्धिमान माझीले गरेका हुन् भने बद्री मैनाली, सन्तबहादुर प्रजा, विराजभक्त श्रेष्ठलगायतले समर्थन गरेका छन् ।
यस्तै सभाकाे शून्य समयमा प्रदेश सांसदहरूले धारणा राखेका थिए । सांसदहरु शोभा शाक्य, रीना गुरुङले कोरोनाको तेस्रो भेरियन्टका लागि प्रदेश सरकारले के तयारी गरेको छ भन्दै संक्रमितहरुको लागि राहत प्याकेज ल्याउन माग गरेका छन् । सांसद लेखनाथ दाहालले सिन्धुपाल्चोकमा आएको प्राकृतिक प्रकोपले उब्जाउ जमिन कटान गरी नाश भइरहकाले त्यसको नियन्त्रण र बस्तीमा प्रवेश गरेको नदी नियन्त्रण गर्न बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसै गरी सांसद शशीजंग थापाले संघीय सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए देशद्रोही कदम हुने भन्दै भत्र्सना गरेका छन् । दल विभाजन सम्बन्धी अध्यादेश ल्याइए सडक र सदन दुबैमा ठाँउबाट आन्दाेलन गर्ने चेतावनी दिए ।

