मकवानपुर । गत बैशाखबाट मकवानपुरमा लगाइएको निषेधाज्ञा गतसाताबाट फेरी कडाई गरिएको छ । निषेधाज्ञा कडाई गरेको भए पनि सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप भएपछि कोरोना संक्रमण फैलने दर उच्च रहने भन्दै आज आइतबारबाट अति चाप हुने सरकारी कार्यालय बन्द गरिएको छ ।
जिम्मेवार निकायहरुबाटै कोरोना संक्रमण फैलने संत्रास भए पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सातासम्म कुनै “एक्सन” उठाएन । पछिल्लो साता दैनिक १ सयको हाराहारीमा नयाँ संक्रमितहरु पुष्टि हुन थालेका छन् । कोरोना नियन्त्रण लागि भन्दै विभिन्न व्यवसायहरू सञ्चालनमा निश्चित समय निर्धारण गरिए पनि संक्रमण दिनदिनै बढीरहेको छ ।
जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीको अव्यवस्थित भीडले कोरोनाको हटस्पट नै मालपोत कार्यालय बन्ने जोखिम देखिपछि कार्यालय बन्द गरिएकाे हाे । कार्यालयमा दैनिक सेवा लिन सयौंको संख्यामा आउने सर्वसाधारणले सामान्य स्वास्थ्य मापदण्डसमेत पालना गरेका हुँदैनन् भने कार्यालयका कर्मचारीहरूले पनि यसको व्यवस्थापनमा ध्यान नदिएपछि सेवा नै रोक्नु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । ‘बाध्यभएर सेवा पूर्ण रुपमा बन्द गरेकाे उनले बताए ।
“सकेसम्म सेवा नै बन्द गर्नु नपरोस् भनेर ढीलाई गरेका थियौ, अवस्था भयावह हुने भएपछि आइतबारबाट एक साताको लागि बन्द गरेका हौ” प्रजिअ पाण्डेले भने । उनका अनुसार आज आइतबारबाट मालपोत कार्यालय र नापी कार्यालय बन्द गरिने भएको छ । प्रजिअ पाण्डेका अनुसार मकवानपुरको थाहा नगर स्थित मालपोत कार्यालय, शिखरकोट र नापी कार्यालय भने बन्द हुने छैन् ।
प्रशासनको सेवामा आलोपालो
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि आलोपालोमा सेवा प्रवाह गर्ने भएको छ । जिल्लामा संक्रमण बढेको र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यलयमा भिडभाडको साथै संक्रमण बढ्न नदिन नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी सेवा आलोपालो प्रवाह गर्न लागिएको बताए । उनले प्रशासनले एक हप्ता नयाँ नागरिकता र अर्को हप्ता प्रतिलिपि नागरिकता र राहदानी सेवा प्रवाह गर्ने बताए ।
प्रशासनले जारी निषेधाज्ञामा अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न पाईने र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखी बेलुका ४ बजे सम्म संचालन गर्न दिएको छ ।
जिल्लामा पछिल्लो ३ महिनादेखि निषेधाज्ञा जारी रहेको छ । यहाँ पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आउँदो साउन ३२ गतेसम्म रहेको छ । प्रशासनले गएको सोमबारबाट निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली,निषेधाज्ञाको अवज्ञा गर्ने पसलहरुलाई जरिवाना लगाउँदै निषेधाज्ञालाई कडाई गरिरहेको छ । जिल्ला स्वास्थ्य कार्यलय मकपानपुरका अनुसार जिल्लामा हाल १ हजार २ को हाराहारीमा सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५३ जनाको मृत्यु भईसकेको छ ।

