मकवानपुर । नेकपा माओवादी केन्द्र हेटाैडाका ३ जना नेता कारबाही सिफारिसमा परेका छन् । माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका पार्टी कमिटिको शनिबारकाे बैठकले उनीहरुलाई कारबाहीकाे सिफारिस गरेकाे हाे ।
बैठकले नगर कमिटि सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा अध्यक्ष दिपक खड्का, नगर कमिटि सदस्य शालिकराम ढकाल र उत्सव चौँलागाईलाई कारबाहीको लागि जिल्ला पार्टी कमिटिमा सिफारिस गरेकाे नगर कमिटि अध्यक्ष तिर्थ बहादुर थापा मगरले बताए ।
खड्काले पार्टी नीति बिरुद्ध गतिबिधि गरेको र ढकाल र चौँलागाई अन्य पार्टीमा प्रवेश गरेकाले उनीहरुलाई कारबाहीको सिफारिस गरिएको थापा मगरले जानकारी दिए ।
हेटौंडा उपमहानगर पार्टी कमिटिकाे बैठक अघी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको सभामा पार्टी प्रदेश कमिटि सदस्य ललित घलान, प्रदेश कमिटि सल्लाहकार कौशल पाण्डे, जिल्ला कमिटि सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन, प्रमिला पुलामी, लक्ष्मी माझी, नगर कमिटि इन्चार्ज विवेक राई, भगिरथ नेपाल, जीवन गोले लगायतको उपस्थिति रहेकाे थियाे ।

